तुलसीपुर,जेठ १२ । दाङ घोराही–१८ की भोकमाया गुरुङलाई विगत लामो समयदेखि हातको औलाहरु दुख्ने,खुट्टाको जोर्नी दुख्ने समस्या छ ।
गुरुङलाई सुरुमा हातको औला दुख्ने,जोर्नी दुख्ने समस्या सामान्य लाग्यो । तर बिस्तारै दुखाई बढ्दै जान थाल्यो । उनलाई राम्रोसँग हिँड्न बस्न कठिनाई हुन थाल्यो ।
भोकमाया धेरै अस्पतालहरु धाइन । बिशेक नभएपछि एक पटक काठमाडौं पुगिन । त्यहाँ चिकित्सकले उनको रोगको उपचार दाङको तुलसीपुरमै संभव रहेको सुझाब दिए ।
त्यसपछि उनी नेशनल बाथरोग सेन्टर तुलसीपुरमा पुगिन । हाल उनी तुलसीपुरमै उपचार गराउँदै आएकी छन ।
भोकमाया शुक्रवार दोश्रो पटक बाथरोग सेन्टरमा उपचारका लागि पुगेकी थिइन । ‘जिल्ला बाहिर जाँदा बढी खर्च लाग्थ्यो,’ उनले भनिन् ‘आफ्नै ठाउँमा उपचार गराउन पाउँदा खर्च बचत भएको छ ।’
प्युठानकी अम्बिका आचार्र्य पनि लामो समयदेखि औंला सुन्निने,मुख सुन्निने समस्याबाट पीडित छिन । उनले पनि धेरै अस्पतालहरुमा धाइन । उनी केही महिना पहिले काठमाडौंको नेशनल बाथरोग सेन्टरमा पुगिन ।
त्यहाँ पुगेर उपचार गराएपछि केही सुधार भयो । त्यहाँका चिकित्सकले आचार्यलाई बाथरोगको उपचार दाङको तुलसीपुरमै गर्न सल्लाह दिए ।
त्यसपछि उनीपनि तुलसीपुरमै उपचार गराउँदै आएको बताउँछिन । दंगीशरण –७ की गुन्नी खत्री पनि खुट्टा झम्झमाउने,ढाड पाटिने,दुख्ने समस्याले पीडित छन् ।
उनले पनि धेरै अस्पतालहरु चहारेकी छिन । दाङका चलेका सबै अस्पतालहरु पुगेकी छन । औषधी खाँदासम्म मात्रै पीडा कम हुन्थ्यो । रोग निको भएन । उनले हार मान्दै अब उपचार नै नगराउने निश्चय गरेकी थिइन ।
तर छिमेकीको सल्लाहमा उनी शुक्रवार नेशनल बाथरोग सेन्टर तुलसीपुरमा आएको बताइन । बाथ रोग विषेशज्ञ डा . .बिनित बैद्यले चेकजाँच गर्दै उनलाई औषधी दिएपछि अब बिशेष हुन्छ कि भन्ने उनी आशामा छिन ।
बाथ, जोर्नी दुखाई , ढाड र कम्मर दुख्ने रोगका बिरामीको संख्या यो सेन्टरमा बढ्दै गएका छन् ।
बाथ रोग एक प्रकारको दीर्घ रोग हो । डा. बैद्यका अनुसार यो समस्या शरिरको रोग निरोधक शक्तिले आफ्नै शरीरका विभिन्न अंग तथा जोर्नीहरुलाई असर गरेपछि देखा पर्ने गर्दछ ।
बाथरोगका दीर्घकालिन असरहरु मानव शरिरमा निकै नकारात्मक हुने भएकोले यस रोगको कारणले हात खुट्टाका औँलाहरु बाँङीने तथा कुप्रो पर्ने,छालामा निको नहुने घाउ, शरिरमा सेतो रगतको कमी हुने, आँखामा समस्या आउन सक्ने डा. बैद्यले बताए । रोगको पहिचान समयमै हुन सकेमा नियन्त्रणमा ल्याउन सकिने डा् बैद्यले बताए ।
नेशनल बाथरोग सेन्टर तुलसीपुरका सञ्चालक शिव श्रेष्ठले साविकको राप्ती अञ्चलका जिल्लाहरु बाट नेशनल बाथ रोग सेन्टर काडमाडौंको रातोपुलमा नियमित उपचार गराउन करिब १५ सय जना बिरामी जाने गरेको थाहा पाएपछि बिरामीको सहजताका लागि तुलसीपुरमा नेशनल बाथरोग सेन्टरको शाखा सञ्चालनमा ल्याएको जानकारी दिए ।
यस्तो जटिल प्रकारको रोग लागेका बिरामी दाङदेखि काठमाडौंसम्म जादाँ हुने समस्या मात्रै नभइ आर्थिक भारलाई कम गर्ने उदेश्यका साथ तुलसीपुरमा शाखा स्थापना भएको श्रेष्ठले बताए ।
२०७८ साल फागुनदेखि तुलसीपुर शाखाबाट सेवा सुरु भएको उनले जानकारी दिए ।
उनका अनुसार बाथरोग सेन्टर तुलसीपुरमा अहिले नियमित रुपमा प्रत्येक महिनाको दोश्रो र अन्तिम शनिवार विषेशज्ञ डाक्टरहरु आउने गरेका छन । दाङमा बाथरोगको उपचार हुने यो मात्रै एक अस्पताल हो । महिनामा झण्डै तीन सय बढी बिरामी उपचारका लागि आउने गरेको श्रेष्ठले जानकारी दिए ।