तुलसीपुर,जेठ ५। आर्थिक मन्दिका कारण व्यापार–व्यवसाय सञ्चालन हुन नसक्दा दाङका व्यवसायीहरु पलायन हुने क्रम बढ्दो क्रममा रहेको छ ।
पछिल्लो समय सफल व्यवसायीका रुपमा परिचित भएका व्यक्तिहरु पनि व्यवसाय बन्द गरि पेशाबाट पलायन भइरहेका छन । आफूले गरेको व्यापारबाट घर भाडा तिर्न समेत धौ–धौ पर्न थालेपछि व्यवसायबाट पलायन हुने अवस्था सिर्जना भएको तुलसीपुरमा फेन्सी पसल गर्दै आएकी परिवर्तित नाम सीमा वलीले बताइन ।
‘बैंकको व्याजदर चर्को छ, घरभाडा पनि महिनै पिच्छे बढीरहन्छ तर व्यापार÷व्यवसाय शुन्य अवस्थामा छ,’ उनले भनिन्,‘यसले गर्दा व्यवसाय धरापमा छ।’
व्यापार नहुँदा जिल्ला छोडेर अन्यन्त्र जान थालेपछि व्यापारिक प्रयोजनमा प्रयोग भइरहेका सटरहरु खाली हुन थालेको उनले बताइन ।
पछिल्लो समय जिल्लाभर ४ सय बढी व्यवसायी पलायन भएको दाङ उद्योग वाणिज्य सघंका टंकसिंह बुढाथोकीले जानकारी दिए । उनका अनुसार अधिकांश व्यवसायीले आर्थिक मन्दि सगैं,बढ्दो घरभाडा र चर्को बैकं व्याजदर तिर्न नसक्दा व्यवसाय बन्द गर्दै सटर खाली गर्ने गरेको जानकारी दिए ।
अहिलेको अवस्था भै राख्ने हो भने भविष्यमा ५० प्रतिशत व्यवसायी व्यापार बन्द गर्न बाध्य हुनु पर्ने अवस्था आउन सक्ने उनले चिन्ता जाहेर गरे ।
कोभिड पछि व्यापार व्यवसाय लयमा फर्कन्छ कि भन्ने आशा गरिएपनि त्यसो हुन नसकेको बताए ।
जिल्लाका मुख्य शहर तुलसीपुर, घोराही,लमहीमा व्यवासायीले पसल बन्द गर्दै सटर खाली गरिरहेका दृष्यहरु देखिन थालेका छन् ।
तुलसीपुर बजारमा करिब २० प्रतिशत सटरहरु खाली हुन थालेको अनुमान गरिएको छ । आर्थिक मन्दि र बैंकको ब्याजदर उच्च रूपमा वृद्धि हुँदा व्यवसाय चलाउन नसक्दा व्यापारीले सटर खाली गरि रहेको तुलसीपुर उद्योग वाणिज्य सघंका महासचिव बिनिल केसीले बताए ।
‘कोरोना महामारी पछि जुन हिसावले आर्थिक सुधार हुनुपर्ने हो,त्यसो हुन सकेन,’ उनले भने,‘अहिले झन देशको आर्थिक अवस्था दिनानु दिन खस्कदै गएको छ,यसले गर्दा व्यापार व्यवसायमा उत्साह छैन।’
उनले नेपाल सरकारले विकास निमार्णका कामदेखि पुजीँगत बजेटको सहज तरिकाले कार्यान्वयन गर्न नसक्दा उपभोक्ताहरुको क्रयशक्ति घटेको तर्क गरे । त्यस कारण पनि व्यापार व्यवसाय कम हुदैँ गएको र व्यवसायहरु छोड्नेहरुको संख्या बढेको उनको भनाई छ ।
‘सम्रगमा हेर्दा सबै व्यापार–व्यवसायमा मन्दिले प्रभाव पारेको छ,’उनले भने ‘त्यसमा पनि अझ धेरै मोवाइल, इलेक्ट्रोनिक, फेन्सी व्यवसायमा प्रत्यक्ष असर परेको छ।’
महासचिव केसीका अनुसार पछिल्लो समय व्यवसायीहरु बिदेशिने क्रम बढेको छ । सोचे अनुरुप व्यापार नहुँदा सटर खाली गर्दै छोडेर बैधानिक÷अबैधानिक दुवै रुपमा बिदेशिने क्रम बढेको उनले बताए । उनले कोभिड–१९ पछि हालसम्म तुलसीपुर क्षेत्रका मात्रै झण्डै २ सय व्यवसायी विस्थापित भएको उनले जानकारी दिए ।
अहिले तुलसीपुरमा मात्र ५ हजार बढी व्यवसायी छन । तुलसीपुर उद्योग वाणिज्य सघंमा २ हजार २ सय व्यवसायीले मात्रै दर्ता भएका छन् ।