तुलसीपुर, बैशाख २९ । तुलसीपुरको बरुवागाउँका एक किशोरको बबईमा नुहाउने क्रममा डुबेर मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ बरुवागाउँका १८ बर्षीय सुरज भट्टको बिहीबार दिउँसो डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए ।
उनलाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ल्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।
भट्ट साथीहरु संग रमाइलो गर्न भनेर घरबाट गएका थिए । भट्टको दंगीशरण गाउँपालिका वडा नं. ४ स्थित बैवाङपुल निजकै डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार भट्ट आफ्ना साथीहरुका साथ घुम्न, रमाइलो गर्न, फोटा खिच्न र टिकटक बनाउन भनेर बबईमा पुगेका थिए ।
त्यही उनी नुहाउन भनेर पसेको र डुबेर मृत्यु भएको भन्ने खुलेको प्रहरीले जनाएको छ । शब पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ ।