
दाङ, बैशाख ३ ।
झुसमुसे साँझ हुँदै थियो । बँदेल हान्ने भनेर स्थानीय केही युवा मिलेर स्थानीय सामुदायिक वनमा हिडिरेहका थिए ।
सोही समय स्थानीय सामुदायिक वन भित्र दुई जोडी केटा केटी डेटिङमा बसेका थिए । शिकार खेल्न गएको टोलीले कुनै शिकार फेला पारेन । घर फर्किरहेको थियो । यो झन्डै राति ११ बजेतिरको घटना थियो ।
मानिसहरु आइ रहेको देखेपछि डेटिङमा गएका केटाकेटी थप शान्त बने । तै पनि खासखुस गर्दौ गर्दै वनमाराका झाडीहरु हल्लिए । शिकारी चार जना थिए । उनीहरुले टर्च लाइट बाले । केटाकेटी आत्तिन थाल्दा बनमाराको झाडी थप चलमलायो । शिकारीले ठाने त्यो पक्कै जंगली बँदेलको चाल हो ।
शिकारीले बँदेल ठानेर गोली चलाए । तर, मानिसहरु कराए । चिच्चाए । गोली लागेर एक किशोर र किशोरी छटपटाइ रहेका थिए ।
यो घटना हो प्यूठानको गौमुखी गाउँपालिका – ४ सुँङगुरखालको ।
चैत २९ गते बेलुकी स्थानीय चुपाल सामुदायिक वनमा स्थानीय २७ बर्षीय बिरेन्द्र केसीले चलाएको गोली लागेर नौंबहनी गाउँपालिका – ४ का १९ बर्षीय सुशिल परियार गम्भीर भाइते भइ सकेका थिए । उनको टाउको र काँधको पछाडिको भागमा गोली लागेको थियो । उनकी प्रेमीका माथि पनि गोलीको छर्राहरु लागेका थिए ।
दुई जोडी मध्य एक जनाले घटना पछि आँफै प्रहरीलाई फोन सम्पर्क गरे । आँफहरु माथि गोली प्रहार भएको र एक जना गम्भीर घाइते भएको भन्दै एम्बुलेन्स लिएर आउन उनैले आग्रह गरे । बिकट त्यो ठाउँमा पुग्न प्रहरीलाई डेढ घन्टा जति लाग्यो । मध्य राति पछि मात्रै प्रहरी घटनास्थल पुग्यो । घाइते परियार र उनकी प्रेमीकालाई उपचारका लागि अस्पताल पुर्यायो ।
जिल्ला अस्पताल बाट थप उपचारका लागि घाइते दुबै जनालाई लुम्बिनी सिटी हस्पिटल बुटुवल पुर्याइयो । उपचारका क्रममा परियारको चैत ३० गते मृत्यु भयो ।
घटनामा गौमुखी – ४ की एक १८ बर्षीया किशोरी घाइते छिन् । उनपनि लुम्बिनी सिटी हस्पिटल बुटुवलमा उपचार पछि बिहीबार मात्रै डिष्चार्ज भएको जिल्ला प्रहरी प्रमुख डिएसपी नरहरी अधिकारीले बताए ।
ती प्रहरी अधिकारीका अनुसार घटना भएको दिन साढे ३ घन्टा टाढा बाट पैदल हिडेर गोली लागेर ज्यान गुमाएका परियार र उनका एक जना साथी प्रेमीका भेट्न गौमुखी – ४ आएका थिए ।
सल्लाहमा दुई जोडी किशोर किशोरी सुङगुरखालस्थित चुपाल सामुदायिक वनमा डेटिङका लागि पुगेका थिए । त्यति नै खेर स्थानीय चार जना शिकारपनि बन्दुकसहित जंगलमा घुमिरहेका थिए । त्यही सयमा वीरेन्द्र केसीले जंगली बँदेल ठानेर चलाएको गोली सुशिल परियारलाई लागेको थियो ।
परियारको हत्या आरोपी केसी चैत ३० गते र उनको साथमा संगै शिकार खेल्न भनेर जंगल गएका अन्य तीन जनालाई प्यूठान प्रहरीले बैशाख १ गते नयाँ बर्षको दिन नियत्रन्त्रणमा लिएको थियो । प्रहरीले उनीहरुले लुकाइ छिपाइ राखेका दुई थान भरुवा बन्दुकपनि बरामद भएको जानकारी दिएको छ ।
अबैध रुपमा घरमा लुकाइ छिपाइ हतियार राख्ने र चोरी शिकारी गर्ने कार्यमा संलग्न चारै जनालाई ज्यान मुद्दामा चलाउने गरि अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक हरि भट्टराइले बताए ।
