दाङ,भदौ ६ । रुकुम पूर्वमा अरिङगालको टोकाइबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
जिल्लाको भूमे गाउँपालिका- ९ चनवाङका २७ वर्षीया न्युटन घर्तीको आज बिहान उपचारको क्रममा जिल्ला अस्पताल रुकुम पूर्वमा मृत्यु भएको हो ।
अरिङगालको टोकाइबाट घाइते भएका सिस्ने गाउँपालिका- ७ नाथिघाटका २४ वर्षीया कमल रेउलेको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए ।
उनका अनुसार सिस्ने गाउँपालिका- ५ स्थित धौलापैरा जंगलमा अरिङगाल पोल्ने क्रममा बुधबार साँझ घर्ती र रेउलेलाई अरिङगालले टोकेर घाइते भएका थिए । घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल लगिएको थियो ।
उपचारको क्रममा घर्तीको मृत्यु भएको हो ।
प्रकाशित मिति : २०८१ भाद्र ६ गते बिहिवार