२०८२ असार १ गते सोमवार

हमासले बन्धक बनाएका थप १७ रिहा

काठमाडौं ,मंसिर १० । इजरायल र प्यालेस्टिनी सशस्त्र समूह हमासबीच दोस्रो चरणको बन्दी साटासाट भएको छ ।

हमासले शनिबार राति थप १७ जना बन्धकलाई रिहा गरेको हो । दोस्रो समूहमा १३ इजरायली र चार थाई नागरिक रिहा भएका हुन् । यसको बदलामा इजरायलले पनि ३९ जना प्यालिस्टिनी कैदी मुक्त गरेको छ । इजरायलले रिहा गरेका ३९ जना प्यालेस्टिनी कैदी वेस्ट बैंक तथा जेरुशलम पुगेका छन् ।

इजरायली सैन्य बलले १७ जना मुक्त बन्धकहरुको प्रारम्भिक स्वास्थ्य मूल्यांकन भएको र एक जनालाई अस्पतालमा पठाइएको जानकारी दिएको छ । उनीहरुको पनि अस्पतालबाट आफ्ना परिवारसँग मिलन भएको सैन्य बलले वक्तव्यमा उल्लेख गरेको छ ।

अधिकारीहरुका अनुसार ३९ प्यालिस्टिनी कैदीहरु इजरायलको डामोन, मेगिड्डो र वेष्ट ब्यांकको ओफर जेलबाट मुक्त भएका हुन् । जसमा ३३ जना किशोर र ६ जना महिला छन् ।

दोस्रो दिनको युद्ध विश्राममा दोस्रो समूहका बन्धकहरु ढिलो गरी मुक्त भएका थिए । कैदीहरु र गाजा क्षेत्रमा जाने सहायता सामग्री सम्बन्धी विवादले बन्दी रिहाइमा ढिलाई भएको हो ।

इजरायलले अस्थायी संघर्ष विश्रामको सम्झौता उल्लंघन गर्दै गाजाका लागि सहायता सामग्री लिएर आएका ट्रकहरुलाई रोक्ने गरेको हमासले आरोप लगाएको छ ।

इजरायली बन्धकहरु मुक्त भएपछि निकै भावुक दृश्य देखिएको थियो । प्यालेस्टिनी कैदीहरुले पनि आफ्नो स्थानमा आइपुग्दा खुशी व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २०८० मङ्सिर १० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *