काठमाडौँ ,कात्तिक १९ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यसमितिको पदस्थापन कार्यक्रम स्थगित भएको छ । जाजरकोटमा शुक्रबार राति गएको भूकम्पमा धनजनको क्षति भएको घटनाप्रति दुःख व्यक्त गर्दै नेविसंघले पदस्थापन कार्यक्रम स्थगित गरेको हो ।
यसैगरी प्रधानमन्त्री राहत कोषमार्फत् नेविसंघ केन्द्रीय समितिबाटमात्रै एकमुष्ट ७ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
गत साउनमा विस्तार भएको नेविसंघका सदस्यहरुलाई कार्त्तिक २० / २१ गते पदस्थापन गराउने तयारी थियो । तर तत्काल भूकम्पका कारण सिंगो देश प्रभावित हुने अवस्था भएकाले कार्यक्रम स्थगित गरिएको अध्यक्ष दुजाङ शेर्पाले बताए ।
उनका अनुसार भूकम्प प्रभावितको राहत तथा उद्धारका लागि नेविसंघ शनिबार देखिनै परिचालित छ । सरकारी राहत कोषमार्फत् केन्द्रीय समितिबाट मात्रै ७ लाख ११ हजार रुपैयाँ सहयोग गर्ने र राहत सहयोगकालागि नेविसंघले सार्वजनिक आव्हान समेत गर्ने अध्यक्ष शेर्पाले बताए ।
उद्धार र उपचारमा नेविसंघले शनिबारै डा नरेश भट्टको संयोजकत्वमा स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ । टोलीमा डाक्टरहरु सुलभ आचार्य, अमृत बस्नेत, सागर काफ्ले, ज्योति शाह समेत खटिएका छन् ।
त्यस्तै सिए पदम भट्टराईको संयोजकत्वमा राहत संकलन समिति गठन गरेको छ ।