काठमाडौँ,कात्तिक १८ । सत्तारुढ दल नेपाली कांग्रेसले जाजरकोट भूकम्प प्रभावितको उद्धार, राहत र पुनर्स्थापनाका लागि सरकारलाई ५० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ ।
शनिबार कांग्रेस मुख्यसचिव कृष्ण पौडेलले जारी गरेको विज्ञप्तिमा सरकारको कोषमा पार्टीले ५० लाख उपलब्ध गराउने निर्णय गरिएको उल्लेख छ ।
कांग्रेसले सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न अपिल पनि गरेको छ । गएराति ११ः४७ मा जाजरकोटको रामिडाँडा केन्द्र भएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको हो ।
मानिसहरू सुतिरहेको अवस्थामा भूकम्प गएकाले घरभित्र च्यापिएर धेरैको मृत्यु भएको छ । अहिलेसम्म १ सय ३२ जनाको मृत्यु भइसकेको छ भने १ सय ४० जना घाइते छन् ।
भूकम्पले गरेको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै राजनीतिक दलका नेताहरूले आ–आफ्नो पार्टी कमिटीलाई खोज, उद्धारमा लाग्न अनुरोध गरेका छन् ।
बेपत्ताहरूको खोजी, उद्धार, घाइतेहरूको उपचारका लागि संघीय सरकारदेखि विभिन्न प्रदेश सरकारहरूले टोली खटाएका छन् । यो विपत्तिलाई लिएर छिमेकी देशहरू भारत र चीनले पनि दुःख व्यक्त गरेका छन् । साथै आवश्यक सहायता उपलब्ध गराउने बाचा पनि गरेका छन् ।