२०८० मङ्सिर २२ गते शुक्रवार

बाँकेका विभिन्न नदीमा दुर्गा भवानीको प्रतिमा सेलाइँदै

बाँके ,कात्तिक ८ । बाँकेमा घटस्थापनाको दिनदेखि स्थापना गरिएको दुर्गा भवानीको प्रतिमा आज नदीमा सेलाइँदैछ ।

बाँके जिल्लाका शहर तथा ग्रामीण क्षेत्रमा स्थापना गरिएको दुर्गा मूर्तिलाई राप्ती नदी, मानखोला र कर्णालीमा लगेर सेलाउने गरिन्छ । मूर्तिलाई ट्रक, ट्रली लगायत विभिन्न गाडीमा राखेर लावा लस्करका साथ, बाजागाजासँगै बैण्ड बाजा बजाएर नाचगान गर्दै अनि जय मातादी भन्दै मूर्ति सेलाइने गरिएको दुर्गा पूजा समिति फुल्टेक्राका अध्यक्ष चन्देश्वरराज त्रिपाठीले बताए ।

आज सबै मूर्ति लगेर राप्ती नदीको सिधानिया घाटमा सेलाइन्छ । मूर्ति सेलाउने क्रममा भक्तजनका लागि प्रसाद वितरण, भजन कीर्तन समेत गर्ने गरिन्छ ।

घटस्थापनाको दिनदेखि स्थापना गरिएको दुर्गाको मूर्ति नौ दिनसम्म विशेष पूजापाठ गरी दशैँको भोलिपल्ट अर्थात एकादशीका दिन आज सेलाउने परम्परा रहेको दुर्गा मूर्तिका पुजारी पण्डित शिवप्रसाद पाठकले बताए ।

उनकाअनुसार मूर्तिमा विशेष गरी नौ दिनसम्म दुर्गा सप्तशतीको पाठ गर्ने गरिन्छ । नवमीका दिन विशेष पूर्णाहुति गरी पूजापाठ सकिन्छ । आजको कार्यक्रम सौहार्दपूर्ण र सामाजिक सद्भावको वातावरणलाई सुदृढ बनाउन विशेष सुरक्षा व्यवस्था गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए ।

दुर्गा मूर्ति विसर्जन र्‍याली निस्कने भएकाले र्‍यालीलाई सभ्य, शान्त, अनुशासित एवम् मर्यादित बनाउन आज बिहान ८ बजेदेखि राति १२ बजेसम्म मदिराजन्य पदार्थको ओसारपसार, बिक्री वितरण तथा उपभोग निषेध गरिएको छ ।

दुर्गा भवानीको मूर्ति विसर्जन र्‍याली अत्यन्तै मर्यादित, अनुशासित, शान्त एवम् शौम्य तुल्याउन साँझ ५ बजे अघि नै मूर्ति विसर्जन सक्न स्थानीय प्रशासनले अनुरोध गरेको छ । बाँके जिल्लामा करिब छ सय दुर्गा मूर्ति रहेका छन् । नेपालगन्जमा मात्र ५६ वटा मूर्ति पूजाका लागि स्थापना गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : २०८० कार्तिक ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *