काठमाडौँ ,असोज २६। देशभरमा यस वर्ष सात सय ३१ झोलुङ्गे पुल निर्माण गरिने भएको छ।
ती मध्ये कतिपय गत वर्षका निर्माणाधीन झोलुङ्गे पुलका योजना रहेको र कतिपय अहिले थप भएका रहेका स्थानीय पूर्वाधार विभागले जनाएको छ।
पुराना सम्पन्न हुने र नयाँ योजना थपिँदै जानु नियमित नै हुने विभागका प्रवक्ता महेशचन्द्र न्यौपानेले बताए।
गत वर्ष सात सय ४१ झोलुङ्गे पुलको निर्माण पूरा भएको स्थानीय पूर्वाधार विभागले जनाएको छ। गतवर्ष सात सय २० वटा पुल निर्माण गर्ने लक्ष्य लिएकामा त्योभन्दा २१ बढी पुल सम्पन्न भएका थिए।
सङ्घ, प्रदेश र स्थानीय सरकारबाट सम्पन्न पुल निर्माणका लागि सहजीकरण भने सङ्घीय सरकारले गर्दै आएको छ।
सरकारले खासगरी ग्रामीण क्षेत्रमा नागरिकलाई नदी पार गर्नका लागि झोलुङ्गे पुल निर्माण गरिरहेको छ। सडकको सुविधा नपुगेको वा पुगे पनि तत्काल सडक पुल निर्माणको सम्भावना नरहेको ठाउँमा झोलुङ्गे पुल निर्माण भइरहेको छ।