तुलसीपुर,असोज २० । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख किरणप्रकास मल्लले दुर्घटना न्यूनिकरणका लागि ट्राफिक सचेतना अभियान संचालन भइरहेको बताएका छन ।
चाडवाडलाई लक्षित गरेर सडक यात्रा सुरक्षित गराउन तुलसीपुरमा आयोजना गरिएको ट्राफिक सचेतना कार्यक्रममा प्रमुख मल्लले दुर्घटना न्यूनीकरण गर्नका लागि चालकले अनिवार्य लाईसेन्स लिनुपर्र्ने,र ट्राफिक नियमको पालना गर्नुपर्ने बताए । उनले दुर्घटना भवितव्य भएपनि कतिपय अवस्थामा मानविय त्रुटीकै कारण दुर्घटना हुने गरेको बताउदैँ बसको क्षमता भन्दा बढी भएमा यात्रा नगर्न आग्रह गरे ।
चालकहरुको अटेरीपनाका कारण धेरै सवारी दुर्घटना भएकाले आफु स्वयम सजक हुनुपर्ने बताए । सो अवसरमाा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका लुम्बिनी प्रदेशका उपाध्यक्ष केशव बहादुर भण्डारीले चालक र यात्रुहरुको सुरक्षित जिवनका लागि ट्राफिक नियमको अक्षरस पालना गर्नुपर्ने बताए ।
अखिल नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्द्रीय उपमहासचिव घनश्याम डाँगीले चाडवाडको समयमा भिडभाड अत्यधिक हुने भएकाले सर्तकता अपनाउँन आग्रह गरे । यसका साथै राज्यले चालकहरुको समस्यालाई मध्यनजर गर्दै भाडादर बढाई थप सेवा दिनुपर्ने तर्क गरे । तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले चाडपर्वको समयमा बढी सवारी दुर्घटना हुने भएकोले सुरक्षित यात्राका लागि चालक सचेत बन्नुपर्ने बताए ।
सो अवसरमा अम्बिकेश्वरी यातायात प्रालिका अध्यक्ष घनश्याम बस्नेत, रोटरी क्लब अफ तुलसीपुर सिटीका अध्यक्ष पवन योगी लगायतले आ आफनो धारणा राखेका थिए । असोज १८ देखि संचालन भएको यो अभियान असोज २३ गतेसम्म संचालन हुने भएको छ ।
त्यस अवसरमा लामो दुरीका गाडी चालकहरुलाई फूलमाला लगाएर बिदाई गरिएको थियो भने सवारी दुर्घटना हुन नदिनका लागि सचेतनामुलक पर्चा पम्प्लेट वितरण संगै स्टिकर टास तथा सडक प्रयोग कर्ताहरुलाई प्रशिक्षण कार्यक्रम गरिएको थियो । कार्यक्रमको सहजीकरण सामुदायीक प्रहरी सेवा केन्द्रका सचिव सरद रेग्मीले गरेका थिए ।