काठमाडौं ,असोज ९ । राष्ट्रिय मानव अधिकार आयोगले बालसुधार गृहमा समस्या देखिएपछि देशभरका बालसुधार गृहको अनुगमन सुरु गरेको छ ।
आयोगले मोरङ्ग, पर्सा, मकवानपुर, भक्तपुर, कास्की, रुपन्देही, बाँके र डोटी जिल्लाका आठवटै बालसुधार गृहको अवस्था अनुगमन गरी यथाशीघ्र प्रतिवेदन पेश गर्नका लागि आयोगका सबै प्रदेश तथा प्रदेश शाखा कार्यालयलाई पत्राचार गरेको मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै जानकारी गराएको हो ।
हालै भक्तपुर, बाँके, पर्सा लगायतका जिल्लास्थित बालसुधार गृहमा विभिन्न विषयलाई लिएर भएका तोडफोड, झडप र उक्त घटनाबाट बालसुधार गृहमा राखिएका बालकको मृत्यु भएको एवम् केही बालक घाइते भएको घटनाप्रति आयोगले गम्भीर ध्यानाकर्षण भएको आयोगका सहसचिव एवक प्रवक्ता डा.टिकाराम पोखरेलले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।
विज्ञप्ती अनुसार भक्तपुरको मध्यपुरस्थित बाल सुधारमा भएको घटनाका सम्बन्धमा स्थलगत अनुसन्धान गर्न केन्द्रीय कार्यालयको टोली मंगलबार नै खटिइसकेको छ । त्यस्तै, लुम्बिनी प्रदेश शाखा कार्यालय नेपालगञ्जको टोलीले बाँकेको डुडुवा गाउँपालिकास्थित बालसुधार गृहमा भएको घटनाको निरन्तर अनुगमन भइरहेको जनाइएको छ ।
भक्तपुरको मध्यपुरस्थित बालसुधार गृहभित्र सामान्य बिरामी परेका कमल बस्नेतको उपचार अभावमा मृत्यु भएको र उक्त विषयलाई लिएर बालसुधार गृहका बालकहरूको समूहले ढुङ्गामुढा तथा तोडफोड गरी सुधार गृहबाट भागेका थिए ।
बाँकेको डुडुवा गाउँपालिकामा रहेको बालसुधार गृहमा केही दिन अघि दुई समूहबिच झडप हुँदा गम्भीर घाइते भएका रुपन्देहीका सुलभ केसीको उपचारका क्रममा मृत्यु भएको र अन्य १० जना घाइते भएका थिए । त्यसैगरी, पर्सा र कास्कीस्थित बालसुधार गृहमासमेत समस्या देखिएका आयोगले जनाएको छ ।