बाँके,भदौ १९ । नेपालगन्जमा गुन्डागर्दीमा संलग्न युवाहरूको खुकुरी प्रहारबाट एक जना पूर्व प्रहरी गम्भीर घाइते भएका छन् ।
सोमबार राति नेपालगन्जको न्युरोडमा रहेको कलपत्रु होटेल नजिकै युवाहरूको खुकुरी प्रहारबाट सई घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी)नारायण डाँगीले जानकारी दिए ।
केही दिनअघि राजीनामा दिइसकेका वरिष्ठ सई विनोद सिंह खुकुरी प्रहारबाट घाइते भएको उनले बताए । स्कुटरमा घरतर्फ गइरहेका सिंहलाई मोटरसाइकलमा आएका दुई जना युवाले स्कुटर रोकी विवाद गरेर खुकुरी प्रहार गरेका थिए ।
घटनामा संलग्न नेपालगन्ज कोरियनपुरका दिपेन्द्र अधिकारी र जानकी गाउँपालिका–१ शिवपुरीका भरत थापालाई राति नै पक्राउ गरिएको डिएसपी डाँगीले जानकारी दिए ।
खुकुरी प्रहारबाट सिंहका दुवै हातका विभिन्न स्थानमा चोट लागेको छ । पक्राउ परेका दुवै युवाहरू नेपालगन्ज क्षेत्रमा गुन्डागर्दीमा संलग्न रहँदै आएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।