सल्यान,भदौ १३ । सल्यानमा आँखा पाक्ने रोगको संक्रमण फैलिन थालेपछि विद्यालयमा पठनपाठन रोकिएको छ ।
सल्यानको दार्मा गाउँपालिकाका विद्यालयमा आँखा पाक्ने रोगको संक्रमण अत्यधिक हुन थालेपछि विद्यालय बिदा दिएको छ ।
दार्मा गाउँपालिका ३ फारुलाचौर मा रहेको श्री जनज्योति माध्यामिक विद्यालय फारुलाचौरको विद्यालय शनिवारसम्म विदा दिइएको विद्यालयले जनाएको छ ।
एक हजार पाँच सय विद्यार्थी रहेको विद्यालयमा एक सय भन्दा बढी विद्यार्थीमा आँखा पाक्ने रोगको प्रकोप देखिएपछि विद्यालय विदा गर्नु परेको प्रधानाध्यापक मिन बहादुर ओलीले जानकारी दिए ।
विद्यार्थीमा आँखा पाक्ने रोगको सङ्क्रमण देखिएकाले विद्यार्थीलाई औषधी गरी घरमै बस्न सुझाव दिइएको बताए । यो सरुवा रोग भएकाले विद्यार्थीमा सङ्क्रमण बढ्न सक्ने बताउँदै उनले सङ्क्रमण बढेकाले विद्यालयमा पठनपाठन स्थगन गर्न परेको बताए ।
केही विद्यार्थीमा अत्याधिक र कतै न्यून मात्रामा सङ्क्रमण देखिएकाले यसको न्यूनीकरणका लागि केही दिनका लागि विद्यालय बन्द गर्नुपर्ने बाध्यता रहेको ओलीको भनाई छ ।
आँखा पाक्नेरोग विगत तिन हप्ता देखि नेपालका धेरै ठाउहरुमा संक्रमण देखिएको र दार्मा गाउँपालिका पनि यसको प्रभाव परेको दार्मा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख यज्ञ बस्नेतले जानकारी दिए ।
