२०८३ बैशाख ११ गते शुक्रवार

थवाङमा सुरक्षित गर्भपतन सेवा लिनेको संख्या बढ्दै

सुर्य प्रकाश बुढा मगर, रोल्पा जेठ ४ । सुरक्षित गर्भपतन सेवा दुर्गमका बस्तिहरुमा पनि प्रभावकारी बन्दै गएको छ ।

आइपास नेपालको आर्थिक सहयोग र पास नेपालको सहजिकरणमा नेपालमा सुरक्षित गर्भपतन शुद्धिकरण परियोजना अन्तर्गत जिल्लामा विगत ५ बर्ष अगाडिबाट अभियान सुरु भएको हो ।

आइपास नेपालमा जोडिएपछि स्थानीय महिलाहरुमा बोल्न सक्ने क्षमता वृद्धि भएको पाइएको छ ।

थबाङ गाउँपालिका– १ की दिलशान्ती बिकले पहिले समाजमा गर्भपतन भनेको पाप हो भन्ने आँफुले बुझेपनि अहिले सुरक्षित गर्भपतन बारेको पहिलेको त्यो बुझाइ गलत रहेछ भन्ने बुझेको बताइन ।

‘अहिले आमा समूहहरुमा गर्भपतन पाप होइन भन्ने सबैको बुझाई रहेको छ,’ बिकले भनिन् ‘पहिले समाजले गर्भपतनका लागि सुइहरु लगाउनु हुदैन भन्ने थियोे तर अहिले त्यो बुझाइबाट समाज माथि उठेको छ ।’

आफूले तालिममा सिकेका कुराहरू अरुलाई पनि सिकाउने गरेको उनले बताइन ।

गर्भपतन सेवा सम्बन्धि जनचेतना मुलक कार्यक्रम वडाहरु मार्फत भइरहेको थबाङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तुलबहादुर पुनले जानकारी दिए ।

गत आर्थिक बर्षमा थबाङ गाउँपालिका– १ वडा बाट सञ्चालन भएको जनचेतना कार्यक्रम थबाङ– ४ सम्म पुगेको थियो ।

अभियानमा सुरक्षित गर्भपतन सम्बन्धि अभिमुखिकरण , बालबिवाह न्यूनिकरण सम्बन्धी कार्यक्रमहरु गएिका थिए ।

आगामी दिनमा यो कार्यक्रमलाई थप प्रभावकारी ढंगले सञ्चालन गर्नका लागि थबाङ गाउँपालिका भित्रका ५ वटै वडा कार्यालयले बजेट विनियोजन गर्नुपर्ने उनले बताए ।

थबाङ गाउँपालिका भित्रका ५ वटै वडाका आमा समूहहरुलाई सुरक्षित गर्भपतन सम्बन्धि अभिमुखिकरण गर्ने र त्यहाँ भएका किशोर किशोरीहरुलाई बहस छलफल गराउँदै आइएको छ ।

सामुदायिक अगुवाहरुले यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि जनचेतना मुलक कार्यक्रम गर्दै आएको थबाङ –२ का वडाध्यक्ष अभिलाषा रोका मगरले बताए ।

आमा समूहहरु गठन गर्ने, आमा समूहहरुको बैठक गर्ने र सुरक्षित गर्भपतन सम्बन्धि कुराहरू जानकारी गराउने, बालविवाह सम्बन्धि र महिला हिंसा सम्बन्धी जानकारीहरु आदान पर्दान गर्दा स्थानीय समुदाय लाभान्बित भएको उनले बताए ।

गाउँपालिकामा यो आर्थिक बर्षमा २० बर्ष मुनिका २० जना र २० बर्ष माथिका २६ जना गरी ४६ जनाले सुरक्षित गर्भपतन सेवा लिएको थबाङ गाउँपालिका स्वास्थ्य शाखाको तथ्यांकमा उल्लेख छ।

जलजला हस्पिटल तथा अनुसन्धान केन्द्र थबाङ झकेबाङ्मा ३२ जना,उवा स्वास्थ्य चौकीमा ११ जना र मिरुल स्वास्थ्य चौकीमा ३ जनाले उक्त सेवा लिएका छन् ।

गर्भपतन पछि परिवार नियोजनका साधन अप्नाउने अन्तर्गत छोटो अबधिमा ३१ जना रहेका छन् ।

जलजला हस्पिटल तथा अनुसन्धान केन्द्र थबाङ झकेबाङ्मा २२ जना,उवा स्वास्थ्य चौकीमा ८ जना र मिरुल स्वास्थ्य चौकीमा १ जना रहेका छन् ।

लामो अबधिसम्म परिवार नियोजनका साधन प्रयोग गर्ने १२ जना रहेका छन । जलजला हस्पिटल तथा अनुसन्धान केन्द्र थबाङ झकेबाङ्मा ७ जना,उवा स्वास्थ्य चौकीमा २ जना र मिरुल स्वास्थ्य चौकीमा ३ जनाले त्यस्तो सेवा लिएका छन् ।

प्रकाशित मिति : २०८० जेष्ठ ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *