सिमकोट,फागुन ७ । आगामी चैत १७ गतेबाट सञ्चालन हुन गइरहेको माध्यमिक शिक्षा परीक्षा ९एसइई० का लागि छवटा परीक्षा केन्द्र निर्धारण गरिएको छ।
जिल्ला परीक्षा समन्वय समितिको बैठकबाट ती साविककै परीक्षा केन्द्रलाई निर्धारण गरिएको हो।
शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख तिलक भट्टराईका अनुसार परीक्षा केन्द्र र परीक्षार्थीहरूको सङ्ख्यामा सिमकोट गाउँपालिकाका बालमन्दिर माविमा २५६ जना र मानसरोवर मावि केन्द्रमा १८० जना परिक्षार्थीहरूको सहभागिता रहनेछ।
त्यसैगरी, सर्केगार्ड गाउँपालिकाका हिमज्योति मावि सर्केगार्डमा २५३ जना र कोटमावि रोडिकोटमा १४८ जना, अदानचुली गाउँपालिकाको सूर्योदय मावि श्रीनगरमा १५७ जना र ताँजाकोट गाउँपालिकाको मदानादेव मावि पाँदामा २४० जना परीक्षार्थीहरूको सहभागिता रहनेछ।
कुल परीक्षार्थीहरूमध्ये साधारणतर्फ एक हजार १४८ जना र प्राविधिकधारतर्फ असी र ग्रेडवृद्धितर्फ छजना परीक्षार्थी रहेका छन्।
यसमा एक हजार २२८ जना नियमित र छजना साधारणतर्फको ग्रेडवृद्धिका परीक्षार्थी छन्। परीक्षार्थीहरूमध्ये ६६० जना छात्रहरू र ५७४ जना छात्राहरूको परीक्षामा सहभागिता रहने छ।
यसपटक एसइई मा सहभागी हुने विधार्थीहरूको सङ्ख्या एक हजार २३४ जना रहेको छ। जब कि गतवर्ष एक हजार १३६ जना रहेका थिए।
कोरोनापछि जिल्ला बाहिर अध्ययन गर्दै आएका विधार्थीहरू जिल्लामै फर्किएर अध्ययन गर्न थालेपछि परीक्षार्थीको सङ्ख्या बढी देखिएको हो।