सिमकोट,साउन २ । हुम्लाका अस्पतालमा अक्सिजन सिलिण्डर खाली भएका बेला उक्त शीर्षकको बजेट भने फिर्ता गएको पाइएको छ।
निजी एयरलाइन्सहरूसँग ढुवानी दर नमिल्दा विनियोजित बजेट फिर्ता गएको हो। स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहका अनुसार आर्थिक वर्ष ०७८/०७९ को वार्षिक कार्यक्रममा अक्सिजन भर्ने र ढुवानीका लागि विनियोजित बजेट फिर्ता भएको छ।
अस्पतालसँग भएको ५४ केजी तौलका ४५ वटा सिलिण्डरमध्ये ४३ वटा हाल रित्ता रहेको भए पनि त्यसलाई नेपालगञ्ज लगेर भर्न नसकिएको हो। अहिले अस्पतालमा दुईवटा मात्र अक्सिजनसहितका सिलिण्डर रहेको छ।
नेपालगञ्जमा प्रति सिलिण्डर पाँच सयमा भर्न सकिने भएको भए पनि निजी एयरलाइन्सहरूसँग ढुवानी दर नमिलेको कारण दश लाख बजेट खर्च नभएर फिर्ता गएको हो।
निजी एयरलाइन्सले सिमकोटबाट नेपालगञ्ज पठाउनका लागि पनि प्रतिकेजी ८० रुपियाँ लिने गर्छन्। जबकि जिल्ला दररेट नेपालगञ्जबाट सिमकोट प्रतिकेजी ११० रुपियाँ रहेको थियो।
सिलिण्डर धेरै केजीको र आकार पनि लामो भएको कारण असजिलो सामानमा पर्ने गर्छ। कार्यालय प्रमुख सिंहले जिल्ला दररेटसँग निजी एयरलाइन्सहरूले माग गरेको भाडादर नमिलेपछि विनियोजित बजेट फिर्ता पठाउनुको विकल्प नरहेको बताए।
अस्पतालसँग भएका सिलिण्डर खाली भएपछि अक्सिजनको अभाव देखिन थालेको छ। यी सिलिण्डरबाट बिरामीको अवस्था हेरी एकदेखि पाँच जनासम्मलाई अक्सिजन दिन सकिन्थ्यो।
हाल अस्पतालले थोरै क्षमता भएको अक्सिजन प्लाण्टबाट पाँचवटा बेडमा जडान गरिएका सिलिण्डरबाट बिरामीलाई अक्सिजन दिने गरेको छ।
अस्पतालकी वरिष्ठ अनमी सरिता बोहराले बिरामी धेरै आए समस्या हुने र बिरामीको अवस्थादेखि अक्सिजन जडान गरिएको बेडमा राख्ने गरिएको जानकारी दिइन्।
पाँचवटा बेड भरिएको बेला अक्सिजनबिनै पनि उपचार गर्नुपर्ने बाध्यता रहेको छ।