मुस्ताङ,कात्तिक २८ । मुस्ताङको कोवाङमा हिम पहिरो गएको छ । मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ को कोवाङमा निकै ठूलो हिम पहिरो गएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद अधिकारीले जानकारी दिए ।
अहिलेसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको र भागाभाग हुँदा केही मानिस घाइते भएका उनले बताए । मुस्ताङको सदरमुकाम जोमसोमबाट १९ किलोमिटर बेनीतर्फको एक हिमालबाट पहिरो खसेको अधिकारीले बताए ।
अहिले घाइतेलाई उद्धार गरेर जोमसोम लैजाने तयारी भइरहेको छ । पहिरोका कारण केही जनावर मरेको हुन सक्ने उनको भनाई छ ।
पहिरो खसेपछि अहिले खोला केही बढेको र वरपरका गाउँमा सचेत रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिए ।
प्रकाशित मिति : २०७८ कार्तिक २८ गते आइतवार
