रसुवा,भदौ ३ । रसुवाको नौकुण्ड गाउँपालिका–५ कोलडाँडामा पहिरोले घर पुरिँदा एक जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । तीन जना अझै बेपत्ता भएका छन् ।
अविरल वर्षाका कारण गएराति घरमाथि पहिरो जाँदा श्यामबहादुर भनिने बुद्धि तामाङकी श्रीमती ३२ वर्षीया कमलाको ज्यान गएको हो ।
पहिरोमा परेर हराइरहेकी कमलाको पुरिएको अवस्थामा शव भेटिएको हो ।
पहिरोमा उहाँका ११ वर्षीया छोरी सोकिता, ८ वर्षीया अर्की छोरी सुकुमाया र सात वर्षीय छोरा आशिष बेपत्ता भएका छन्। उनीहरुको खोजी भइरहेको रसुवाका प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले जानकारी दिए ।
पहिरोमा परेर घाइते भएका बुद्धि तामाङलाई थप उपचारका लागि काठमाण्डौ रेफर गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७८ भाद्र ३ गते बिहिवार