
लालमटिया, असार ३१ । राप्ती गाउँपालिका पूर्ण खोप बालबालिका युक्त पालिका घोषणा भएको छ । गाउँपालिकाका १५ महिना भित्रका बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार लिनुपर्ने सम्पूर्ण खोप लिएको अवस्था पाइएकोले जिल्ला जनस्वास्थ्य कार्यालय दाङले प्रमाणीकरण प्रक्रिया पुरा गर्दै विहीवार गाउँपालिकालाई पूर्ण खोप बालबालिका युक्त पालिका घोषणा गरेको हो ।
गाउँपालिकाका स्वास्थ्य संयोजक नारायण राउतका अनुसार गाउँपालिकाको पूर्ण खोप समन्वय समितिले गत असार २१ गते पूर्ण खोप युक्त पालिका घोषणाका लागि सिफारिस गरेको थियो ।
विहीवारको घोषणा सभा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी, उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, जिल्ला जनस्वास्थ्य कार्यालय दाङका प्रमुख अंगतबहादुर शाही लगाएतको सहभागीता थियो । सरकारले सबै लक्षित बालबालिकालाई जन्मेको १५ महिनाको उमेर भित्रै राष्ट्रिय खोप कार्यक्रमको तालिका अनुसार खोप दिने गरेको छ ।
सबै बालबालिकालाई पूरा खोप पाउने वातावरण सिर्जना गरी २३ महिना भित्र पूर्ण खोप लगाउने गरिएको स्वास्थ्य संयोजक नारायण राउतले जानकारी दिए ।
कर्यक्रममा पूर्ण खोप समन्वय समितिका संयोजक तथा स्वास्थ्यकर्मीहरु ताराबहादुर डिसी, रमा पौडेल, जगतबहादुर थापा, कमला न्यौपाने, चन्दर चौधरी, पुनम कुमाल, विष्णु बहादुर घर्भी क्षत्री, जानकी रोका, गोवर्धन रावत, कन्या चौधरी, बेदप्रसाद चौधरी, चन्दा चौधरी, विद्याशरण चौधरी, गोकर्णबहादुर राना, रिमबहादुर सुनारी, यज्ञबहादुर कार्कीलाई प्रमाण पत्र सहित सम्मान गरिएको थियो । पूर्ण खोप युक्त पालिका हरेक वर्षको खोप कार्यक्रमले निर्धारण गर्ने गर्छ ।