विराटनगर,असार १३ । विराटनगरको बालसुधार गृहको तेस्रो तलाबाट हामफालेर फरार भएका तीन जना बालक पक्राउ परेका छन् ।
शनिबार बिहान चार जना बालक फरार भएका थिए । फरार भएको केही समय पछि एक बालक पक्राउ परेका थिए भने अन्य तीन जना फरार थिए ।
मोरङ प्रहरीका डीएसपी मञ्जील मुकारुङका अनुसार तीन जनालाई आइतबार बिहान पक्राउ गरिएको हो ।
जबरजस्ती करणी मुद्दामा अदालतबाट १० वर्ष कैद सजायको फैसला भइसकेका सोलुखुम्बु घर भएका एक जनालाई भाग्दै गरेको अवस्थामा तत्कालै प्रहरीले नियन्त्रणमा लिएको थियो ।
सङ्खुवासभा, उदयपुर र झापा घर भएका तीन बालक फरार भएका थिए । उनीहरुको खोजीमा प्रदेश १ प्रहरी कार्यालय विराटनगर र मोरङ प्रहरीको विशेष टोली खटिएको थियो ।
आइतबार बिहान पक्राउ परेका दुई जना जबरजस्ती करणी मुद्दामा अदालतले दोषी ठहर गरेपछि कैद सजाय भुक्तान गरिरहेका बालविज्याइँकर्ता हुन् । अदालतले एक जनालाई १२ र एक जनालाई पाँच वर्ष कैद सजायको फैसला सुनाएको थियो ।
एक जनालाई भने विष्फोटक पदार्थ सम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएपछि सुधारगृहमा ल्याएर राखिएको थियो ।