बुटवल,कात्तिक १५ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिहीबार बुटवल आउने भएका छन् ।
बुटवलस्थित आम्दा अस्पतालको २५ औं वार्षिकोत्सव समारोह उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड आउन लागेका हुन् ।
विसं २०५५ कार्तिक १६ गते आम्दा नेपाल, तत्कालीन बुटवल नगरपालिका र बुटवल उद्योग वाणिज्य संघबीच त्रि-पक्षीय समझदारीमा ५० शय्याको अस्पताल सञ्चालनमा आएको थियो ।
सोही अस्पतालको वार्षिकोत्सव समारोहको सम्पूर्ण तयारी पूरा भएको र प्रधानमन्त्री प्रचण्डले वार्षिकोत्सव समारोह उद्घाटन गर्ने अस्पतालका अध्यक्ष एवं बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिए ।
उक्त अवसरमा प्रधानमन्त्री प्रचण्डले अस्पतालको थप २०० शय्या भवनको शिलान्यास र शैक्षिक कार्यक्रमको शुभारम्भ गर्ने कार्यक्रम तय भएको अध्यक्ष पाण्डेयले बताए ।
उनले १०० शय्याको अस्पतालको स्तरोन्नति गरी ३०० शय्याको अस्पताल बनाउने तयारी भएको बताए । समयको मागअनुसार अस्पतालको स्तरवृद्वि गरी आमा सुरक्षा कार्यक्रम सञ्चालन गरिने उनले जानकारी गराए ।
यसै शैक्षिक सत्रदेखि प्रमाणपत्र तह नर्सिङ, सामान्य चिकित्सा (एचए) र डिप्लोमा इन फार्मेसी विषयको शैक्षिक कार्यक्रम सञ्चालन गर्ने तयारी भएको मेयर पाण्डेयले बताए ।
उनका अनुसार ३ वटा विषयमा ४०/४० जनाका दरले १२० जना विद्यार्थीले यस वर्ष अध्ययन गर्नेछन् । विद्यार्थीलाई अध्ययन शुल्क अन्यमा भन्दा २० प्रतिशत कम गरिनेछ ।
आर्थिक वर्ष २०७९/८० मा ७० हजार ४८६ जनालाई सेवा प्रदान गरिएको अस्पतालले बताएको छ । आर्थिक वर्ष २०७०/०७१ देखि २०७९/०८० सम्म ६ लाख २१ हजार ९४२ जना बिरामीले अस्पतालबाट सेवा लिएको जनाइएको छ ।