२०८३ बैशाख १५ गते मङ्गलवार

एमाले लुम्बिनीको मतदान सकियो,केहीबेरमा मतगणना सुरु हुने

बुटवल,भदौ १९ । नेकपा (एमाले) लुम्बिनी प्रदेशको अधिवेशनमा नेतृत्व चयनका लागि मतदान सकिएको छ। १ हजार ४ जना मतदाता रहेकामा ९ सय ६५ मत खसेको निर्वाचन समितिले जानकारी दिएको छ।

बिहान ८ बजे सुरू भएको मतदान अवधि दिउँसो १ बजेसम्मका लागि तोकिएको थियो। तर १ बजेभित्र हलभित्र छिरेका प्रतिनिधिले मतदान गर्न २ बजेसम्म लागेको निर्वाचन समितिले जानकारी दिएको छ। मुख्य निर्वाचन अधिकृत हरिप्रसाद भण्डारीका अनुसार अब केहीबेरमा मतगणना सुरू हुनेछ भने मंगलबार रातिसम्म गणना सकेर परिणाम सार्वजनिक गर्ने तयारी छ।

प्रदेश अध्यक्षका लागि निवर्तमान अध्यक्ष रहेका पाल्पाका राधाकृष्ण कँडेल र प्युठानका हरि रिजालबीच प्रतिष्पर्धा छ। सचिवमा उम्मेदवारी दिएका गुल्मीका सोमनाथ सापकोटाले उम्मेदवारी फिर्ता लिएपछि दाङका लक्ष्मण आचार्य निर्विरोध भइसकेका छन्।

पाँच पदाधिकारीमध्ये अध्यक्ष, उपाध्यक्ष, र दुई उपसचिवमा १३ जनाबीच प्रतिस्पर्धा छ। उपाध्यक्षमा रूपन्देहीका भोजप्रसाद श्रेष्ठ, रूपन्देहीकै विश्वराज बराल अनुप, बाँकेका पुजन विश्वकर्मा र रोल्पाका शान्तकुमार वलीबीच प्रतिस्पर्धा छ।

महिला एक जना उपसचिव पदमा बाँकेकी आरती पौडेल, वसन्ती अधिकारी र बर्दियाकी लिला रानाले उम्मेदवारी दिएका छन्।

त्यस्तै पुरूषतर्फ एक उपसचिव पदमा रूकुम पूर्वका उपेन्द्रलाल कामी, बाँकेका दुर्गाप्रसाद चौधरी, रोल्पाका पूर्ण बुढामगर र गुल्मीका हिरा एसीले उम्मेदवारी दिएका छन्। शनिबारदेखि सुरू भएको अधिवेशनमा सहमतिको प्रयास भन्दै सोमबार दिउँसोसम्म निर्वाचनको प्रक्रिया लम्बाइएको थियो।

सहमति जुट्न नसकेपछि साँझ सात बजेदेखि मतदान प्रक्रिया सुरू गर्ने बताइए पनि मतदानको लागि आवश्यक तयारी पूरा नभएपछि राति १० बजे सूचना गरेर मंगलबार बिहान ८ बजेका लागि समय सारिएको थियो।

अध्यक्षका उम्मेदवार कँडेल समूहबाट उपाध्यक्षमा रूपन्देहीका भोजप्रसाद श्रेष्ठ, उपसचिवमा पुरूषमा बाँकेका दुर्गा चौधरी र महिलामा बर्दियाकी लिला रानाले मत मागेका थिए। रिजालको समूहबाट उपाध्यक्षमा रूपन्देहीका विश्वराज बराल अनुप, उपसचिव पुरूषमा रोल्पाका पूर्ण बुढामगर र महिलामा वसन्ती अधिकारी छन्।

अधिकांश जिल्लामा भूगोलबाट चयन हुने सदस्यहरू निर्विरोध चयन भए पनि केही जिल्लाका लागि भने भूगोलतर्फको सदस्यका लागि पनि भएको निर्वाचन आयोगले जनाएको छ। अधिवेशनबाट ५ पदाधिकारीसहित २ सय ५ सदस्यीय प्रदेश कमिटी निर्वाचित हुने छ।

लुम्बिनी प्रदेशको यो अधिवेशनलाई एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलको शक्तिको लडाइँको रूपमा लिँदा अझ पेचिलो बन्दै गएको छ।

महासचिव पोखरेलले केन्द्रीय सदस्यसमेत रहेका रिजाललाई समर्थन गरेका छन् भने उपाध्यक्ष पौडेलले वर्तमान अध्यक्ष कँडेललाई समर्थन गरेका छन्। योसँगै पार्टीका केन्द्रीय पदाधिकारी र सदस्यहरूसमेत कँडेल र रिजाल पक्षमा विभाजित भएको देखिन्छ।

पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीसँगै केन्द्रीय सदस्यहरू चेतनारायण आचार्य, भूमिश्वर ढकाल र शिव सुवेदी रिजालको पक्षमा लागेका छन् भने सचिव छविलाल विश्वकर्मा तथा गोकर्ण विष्ट, पोलिटब्युरो सदस्यहरू लिला गिरी, खिमलाल भट्टराई, दधिराम न्यौपाने, बैजनाथ चौधरीलगायत कँडेलको पक्षमा खुलेका छन्।

प्रकाशित मिति : २०८० भाद्र १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *