२०८१ कार्तिक २३ गते शुक्रवार

एमाले लुम्बिनी अधिवेशन ः तीन बजेबाट मतदानको तयारी

बुटवल,भदौ १८ । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको नेतृत्व सहमतिमा चयन गर्ने प्रयास असफल भएको छ ।

सहमतिको प्रयास असफल भएसँगै निर्वाचन कमिटीले निर्वाचनको प्रक्रिया थालिसकेको छ । सोमबार बिहान ११ बजेसम्म उम्मेदवारी मनोनयन समय तोकिएकोमा उक्त समय सकिएपछि निर्वाचन कमिटीले उम्मेदवारी दिएकाहरूको नाम सङ्कलन गरिरहेको छ ।


रुपन्देहीको बुटवलमा शनिवारबाट जारी एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनमा अध्यक्षसहितका पदमा दुई समूहले उम्मेदवारी दर्ता गरेपछि छुट्टाछुट्टै प्रतिस्पर्धामा हुने निश्चित भैसकेको छ । सोमबार बिहानसम्म पनि सहमतिमै नयाँ नेतृत्व चयनका लागि नेताहरू जुटे पनि असफल भएको बताएका छन् ।

खास गरी अध्यक्षमा आकाङ्क्षी हालका अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य समेत रहेका हरिप्रसाद रिजालबीच सहमति जुटाउने प्रयास भएपनि असम्भव भएको एमाले पोलिटब्युरो सदस्य खिमलाल भट्टराईले जानकारी दिए ।

उनले भने, ‘सहमतिको प्रयास धेरै गरियो तर अध्यक्षका उम्मेदवारहरूले निर्वाचनमै जाने पछि नहट्ने भन्ने अडान नछोड्दा अव निर्वाचन नै हुने भयो ।’ नेता भट्टराईले सोमबार दिउँसो ३ बजेबाट मतदान गर्ने तयारी भइरहेको बताए ।

उम्मेदवारी मनोनयनको समय सकिएसँगै दाबी विरोध, उम्मेदवारी फिर्ता लगायतका कामहरू हुने निर्वाचन प्रमुख हरिप्रसाद भण्डारीको भनाइ छ । निर्वाचन कमिटीका सदस्य विष्णुप्रसाद खनालले मनोनयन दर्ता गर्ने समय सकिएपछि निर्वाचन समितिले अरू प्रक्रिया सुरु भएको बताए ।

एमाले लुम्बिनीको उपाध्यक्षमा भोजप्रसाद श्रेष्ठ र पुजन विश्वकर्मा, सचिवमा लक्ष्मण आचार्य, सोम सापकोटा र उपसचिवमा १२ जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा उम्मेदवारी दिएका श्रेष्ठ कँडेल र विश्वकर्मा रिजाल पक्षका हुन् । अधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिव सहित २०५ सदस्यीय प्रदेश कमिटी निर्वाचित हुने छ ।

नेतृत्वको विषयमा उपाध्यक्ष विष्णु प्रसाद पौडेल र महासचिव शङ्कर पोखरेलबीच शक्ति सङ्घर्ष देखिएकाले अधिवेशन पेचिलो बनेको हो । महासचिव पोखरेलले केन्द्रीय सदस्य समेत रहेका रिजाललाई समर्थन गरेका छन् भने उपाध्यक्ष पौडेलले वर्तमान अध्यक्ष राधाकृष्ण कँडेललाई समर्थन गरेका छन् ।

प्रकाशित मिति : २०८० भाद्र १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *