काठमाडौं,भदौ १२ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनलाई तोड्न धेरै कसरत भइरहेको दाबी गरेका छन् ।
तर सरकारविरुद्ध जति षड्यन्त्र गर्छन्, त्यति उनीहरु जनताको नजरमा गिर्दै जाने उनको दाबी छ । माओवादी केन्द्रको उपत्यका विशेष प्रदेश समितिले मंगलबार राखेको प्रशिक्षण कार्यक्रममा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले भने, ‘यो गठबन्धन तोड्ने धेरै कसरत छन्, तर कसेको केही लाग्ने मैले देखेको छैन ।
’ ठूलो दुर्घटना भएन भने यो गठबन्धन ५ वर्ष जाने उनको दाबी छ । उनले अघि भने, ‘गठबन्धन तोड्न जति बल गर्छन्, त्यति नै जनताको नजरमा गिर्दै जाने छन् ।’ प्रधानमन्त्री प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास र सुन तस्करी सञ्जाल तोड्न गरिएको प्रयास समाजवाद र समृद्धिको आधार तयार पार्ने अभियान भएको बताए ।
मुर्झाएको जस्तो माओवादीको अवस्था बदल्न हिंसा बिनाको नयाँ जनयुद्ध सुरु गरेको र सरकारको कामकारबाहीले जनतामा भरोसा सञ्चार हुँदै गएको उनको दाबी छ । सरकारविरुद्ध जति षड्यन्त्र ग¥यो, त्यति उनीहरु नै जनताको नजरमा गिर्दै जाने उनको दाबी छ ।
आफ्नो नेतृत्वको सरकारले अर्थतन्त्रमा सुधारको धेरै प्रयास गरेको भएपनि अर्थतन्त्र चलायमान भइनसकेको र सरकारको नीतिप्रति व्यवसायीहरु ढुक्क भइनसकेको उनले बताए ।