विराटनगर,भदौ ४ । उपसभामुख सिर्जना दनुवार अनुपस्थित भएपछि सोमबार बिहान ८ बजेका लागि डाकिएको कोशी प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक मध्यान्हसम्मलाई स्थगित गरिको छ।
परामर्श समितिका सदस्यहरु बैठकस्थलमा पुगे पनि उपसभामुख अनुपस्थित हुने सूचना दिइसकेकाले बैठक बस्दै नबसी मध्यान्हसम्मलाई स्थगित भएको हो।
बैठकस्थलमा परामर्श समितिका सदस्यहरुको अनौपचारिक छलफलबाट मध्यान्ह सवा १२ बजे बैठक राख्ने निर्णय गरेको छ।
उपसभामुख काठमाडौं लागेपछि तथा अध्यक्षमण्डलकी सदस्य नेकपा एमालेकी मालती लिम्बु र राष्ट्रिय प्रजातन्त्र पार्टीका अम्बरबहादुर विष्ट पनि अनुपस्थित भएपछि बैठकको अध्यक्षता गर्ने जिम्मेवारी कांग्रेसका इस्राइल मन्सुरीकहाँ आइपुगेको छ।
अबको बैठक उनकै अध्यक्षतामा बस्ने सहमति जुटाइएको छ। सभाध्यक्ष मण्डलका सदस्यहरुमा नेकपा एमालेकी मालती लिम्बु, कांग्रेसका इसराइल मन्सुरी, नेकपा माओवादी केन्द्रकी गीता तिम्सिना र राप्रपाका अम्बरबहादुर विष्ट छन्।