२०८२ माघ १ गते बिहिवार

सदनको अवरोध हटाउन प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच छलफल

काठमाडौं,भदौँ १ । लामो समयदेखि अवरुद्ध संघीय संसद्को बैठक नियमित रूपमा सञ्चालन गर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच छलफल भएको छ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री दाहालले सदनको व्यवधान खुलाउन आफूले पहल गर्ने बताए।

राजस्व अनुसन्धान विभागले गत साउन ३ गते सिनामंगलमा सुन बरामद गरेको थियो। साउन १० गतेदेखि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार संघीय संसद्का दुवै सदनको बैठक अवरोध गर्दै आएको छ।

उच्चस्तरीय छानबिन समितिको माग गर्दै भइरहेको अवरोधका कारण सदनको नियमित कामकारबाही अघि बढ्न सकेको छैन। सरकारले भने सरकारी निकाय र अंगले नै निष्पक्ष छानबिन गर्ने स्पष्ट पार्दै आएको छ।

आजको भेटमा सभामुख घिमिरेले सदन नचल्नु राम्रो भएन भन्दै तत्काल पहल थाल्न प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका थिए।

‘माननीयहरूले बोल्न समय माग्नुभएको छ। प्राकृतिक विपत्तिलगायतका विषयमा माननीयले बोल्न पाइनँ भन्नुभएको छ। दलीय सहमतिविना सदन अगाडि बढ्न सक्ने स्थिति छैन,’ सभामुख घिमिरेले भने, ‘आमजनताले पनि सदन अवरोधलाई राम्रो मानेका छैनन्। कम्तीमा सदन खुलाउन सत्तापक्ष र प्रतिपक्षले गम्भीरतापूर्वक छलफल गरिदिनुहोस्।’

सभामुख घिमिरेले संसदीय समितिको नेतृत्व चयन हुन नसक्दा संसदमा कानुन निर्माण भएनन् भन्ने गुनासो पनि व्याप्त रहेको उल्लेख गर्दै सदनको अवरोध खुलाउन आग्रह गरे।

प्रकाशित मिति : २०८० भाद्र १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *