२०८२ माघ ४ गते आइतवार

कोशी सरकार गठनविरुद्धको रिट न्यायाधीश माथेमा र श्रेष्ठको इजलासमा

काठमाडौँ,साउन ८ । कोशी प्रदेश सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा परेको रिट न्यायाधीशद्वय शुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासमा आज (सोमबार) का लागि पेसी तोकिएको छ।

यसअघि हिजो (आइतबार)न्यायाधीशद्वय कुमार रेग्मी र नहकुल सुवेदीको इजलासमा पेसी तोकिए पनि उनीहरुले हेर्न नमिल्ने भएका कारण सुनुवाइ हुन सकेको थिएन।

आजका लागि दोस्रो नम्बरमा पेसी तोकिएकाले उक्त मुद्दाको सुनवाइ हुने सम्भावना छ। यसअघि असार २७ गते न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले प्रारम्भिक सुनुवाइ गर्दै आइतबारका लागि सुनुवाइको मिति तोकेको थियो।

कांग्रेस नेता उद्धव थापालाई मुख्यमन्त्री नियुक्ति गर्ने निर्णय बदर गर्न माग गर्दै पूर्वमुख्यमन्त्री एवम् एमाले नेता हिक्मत कार्कीले सर्वोच्चमा रिट दायर गरेका हुन्।

सर्वोच्चले मुख्यमन्त्री नियुक्ति गर्दाका सक्कलै फाइल झिकाउँदै प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको थियो।

न्यायाधीश सपना प्रधान मल्लको इजजासले थापालाई मुख्यमन्त्री बनाउन गरिएका प्रस्ताव, समर्थन, दाबी र हस्ताक्षरलगायत सम्पूर्ण कागजातसहित प्रदेश प्रमुखले असार २१ गते गरेको निर्णयको सक्कल फाइल साउन ३ गतेभित्र झिकाउन आदेश दिएको थियो।

प्रदेश सरकार गठनमा सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर जोडेर बहुमत देखाएर कांग्रेस संसदीय दलका नेता थापालाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको निर्णय खारेज गर्न माग गर्दै एमालेले असार २९ गते रिट दायर गरेको हो।

थापाको नेतृत्वमा गठित सरकार बदर गरी आफ्नो दलको नेतृत्वमा सरकार बनाउन एमालेले परमादेश माग गरेको छ।

एमालेले रिटमा संविधानको धारा १६८ को उपधारा २ अनुसार निर्मित सरकार असंवैधानिक भएकाले उत्प्रेषणको आदेशद्वारा बदर गरी धारा १६८ को उपधारा ३ अनुसार नयाँ सरकारको बाटो खोल्न परमादेश जारी गर्न माग गरेको छ।

सर्वोच्चका रिट पर्नुअघि नै थापाले शपथ खाएर पदबहाली गरिसकेका थिए।

प्रकाशित मिति : २०८० साउन ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *