२०८२ माघ १ गते बिहिवार

नेपालमा आर्थिक सहयोग बढाउन चीन सकारात्मक छ ः गृहमन्त्री

काठमाडौं,असार १७ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको विकास प्रक्रियामा आर्थिक सहयोग बढाउन चीन सकारात्मक रहेको बताएका छन्।

पाँच दिने चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्केका उनले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै चीनका उपप्रधानमन्त्री तथा सिचुवान प्रान्तका पार्टी प्रमुख नेपाललाई आगामी दिनमा आर्थिक सहयोग वृद्धि गर्न सकारात्मक देखिएको बताएका हुन्।

उपप्रधानमन्त्री श्रेष्ठले आफ्नो चीन भ्रमणका क्रममा नेपाल र चीनबीच सम्बन्ध सुदृढीकरण, व्यापार र लगानी प्रवर्द्धन तथा आर्थिक विकासमा वृहत् छलफल भएको बताए।


भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठ र चीनका उपप्रधानमन्त्री फङबीच द्विपक्षीय भेटवार्ता भएको थियो। वार्तामा दुई देशबीच व्यापार, लगानी, पर्यटन, ‘कनेक्टिभिटी’लगायत विषयमा छलफल हुनुका साथै चीनद्वारा नेपालमा थप सहयोग बढाउने बारेमा विचारविमर्श भएको थियो। थप व्यापारिक नाका खोल्ने र नेपाल–चीन सीमा नाकामा आवतजावत सहज बनाउने विषयमा समेत सकारात्मक छलफल भएको थियो।

चिनियाँ अधिकारीसँगको भेटका सन्दर्भमा उनले भने, “चीनले नेपालको विकास प्रक्रियामा महत्त्वपूर्ण साझेदारको भूमिका खेल्दै आएको छ।

भूकम्प, कोरोना महामारीलगायत नेपाललाई अप्ठ्यारो परेको समयमा चीनले महत्त्वपूर्ण सहयोग पुर्‍याउँदै आएको छ, त्यसका लागि हार्दिक आभार प्रकट गरेको छौँ”, उपप्रधानमन्त्री श्रेष्ठले भने। व्यापार र पर्यटन प्रवर्द्धन गर्न चिनियाँ पक्षसँग विशेष अनुरोध गरिएको जानकारी दिँदै उनले बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) परियोजना कार्यान्वयनका सम्बन्धमा पनि छलफल भएको बताए।

नेपालले बिआरआई अन्तर्गतका परियोजना कार्यान्वयनमा लैजान सन् २०१७ मा हस्ताक्षर गरेको थियो। कार्यान्वयन योजनालाई अन्तिम रूप दिन दुई पक्षकाबीचमा मस्यौदा आदानप्रदान भएको छ।

प्रकाशित मिति : २०८० असार १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *