२०८३ भाद्र १० गते बुधवार

कोइराला पक्षको भेला बत्तिसपुतलीमा जारी

काठमाण्डौ,माघ ८ । नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षले आज काठमाडौंमा आन्तरिक भेला गरेका छन्।

बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा आइतबार बिहान ८ बजेदेखि भेला जारी रहेको कोइरालाको सचिवालयले जानकारी दिएको छ।

पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गरी सामूहिक धारणा बनाउन भेला भएको हो।

१४ औं महाधिवेशनमा कोइराला पक्षबाट उम्मेदवार भई निर्वाचित भएका पदाधिकारी, उम्मेदवारहरू, केन्द्रीय सदस्यहरू, प्रतिनिधि सभा सांसदहरू र प्रदेश सभापतिहरू भेलामा सहभागी छन्।

नेता गुरूराज घिमिरेले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बिहान ८ बजेदेखि भेला गरिएको सेतोपाटीलाई बताए।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई गत पुस २६ मा विश्वासको मत दिएकोमा संस्थापनइतर समूहका केही नेता असन्तुष्ट छन्। कांग्रेसले प्रमुख प्रतिपक्षमै बस्ने गरी विश्वासको मत दिइएको बताउँदै आएको छ।

यस्तै पार्टीका महत्वपूर्ण निर्णय लिनुपर्दा सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठक नराखेको, चुनावी समीक्षा समयमै नगरेकोजस्ता आरोप पनि छन्। सभापति देउवालाई विधानको पालना गर्न संस्थापनइतर समूहले दवाव सिर्जना गर्न नसकेको गुनासा पनि छन्।

नेविसंघ, तरूण दललगायत भ्रातृ संघसंस्थाले पूर्णता नपाएका विषयमा पनि कुराकानी भएका छन्।

कांग्रेसले माघ १५ गतेदेखि केन्द्रीय समिति बैठक सुरू गर्दैछन्। यसअघि २ पटक केन्द्रीय समिति बैठक स्थगित भइसकेको थियो।

केन्द्रीय समितिमा प्रस्तुत हुँदा सामूहिक धारणासहित जानका लागि कोइराला पक्षले आन्तरिक छलफल गरेका हुन्।

चुनावअघि माओवादी लगायतसँग गठबन्धन गर्न दवाव दिए पनि सभापति देउवाले चुनावपछि उक्त गठबन्धन जोगाउन नसकेकोमा संस्थापनइतर समूहका नेताहरूले आलोचना पनि गरिरहेका छन्।

प्रकाशित मिति : २०७९ माघ ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *