२०८१ जेष्ठ १३ गते आइतवार

आस्थाको आधारमा शिक्षकमाथि भेदभाव भयो : शिक्षक नेताहरु

नेपाल शिक्षक संघ दाङको २३ औं जिल्ला प्रतिनिधि सभा

घोराही, फागुन २२ । नेपाल शिक्षक दाङ जिल्ला कार्य समितिको २३ औ जिल्ला प्रतिनिधि सभा शनिवार घोराहीमा भएको छ ।‘शिक्षकको मर्यादित पेशा, विद्यार्थीलाई जीवन उपयोगी शिक्षा’ भन्ने मूल नाराका साथ भएको सभाको उदघाटन सत्रका बक्ताहरुले आस्थाका आधारमा शिक्षकहरुमाथि प्रहार भइरहेको भन्दै रोष प्रकट गरेका छन् ।

अहिले शिक्षकहरुमाथि भइरहेको प्रहार रोक्न प्रजातन्त्रलाई बलियो बनाउनु पर्नेमा उनीहरुको जोड थियो ।देशमा बामपन्थीहरुको सरकार भएको आडमा राज्यशक्तिको दुरुपयोग गर्दै अहिले प्रजातन्त्रप्रति आस्था राख्ने शिक्षक संघमा आवद्ध शिक्षकहरुलाई छानिछानी दुःख दिने काम भइरहेको बक्ताहरुको गुनासो गरे ।कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस दाङका सभपति कीर्तिबहादुर खड्काले बौद्धिक बर्गको सम्मान गर्न नसक्ने राज्यका कारण समाज सुद्रिढ हुन नसकेको बताए ।

अव बन्ने शिक्षा नीतिमा जो सुकै सरकारमा गएपनि बौद्धिक बर्गलाई सम्मान गर्ने खालको ब्यवस्था ल्याउन जरुरी रहेको उनले बताए ।

प्रमुख अतिथि खड्काले राजनीतिबाट शिक्षा क्षेत्रमाथि हुने गरेको प्रहार रोक्नु पर्नेमा जोड दिए । कार्यक्रमका बिशिष्ट अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. टिएन योगीले शिक्षकहरु एक सम्मानित र मर्यादित ब्यक्ति भएको भन्दै आस्थाका आधारमा शिक्षकहरुमाथि हुने गरेको प्रहार रोक्नुपर्ने माग गरे ।

कार्यक्रमका अर्का बिशिष्ट अतिथि नेपाल शिक्षक संघका संघीय उपाध्याक्ष अमरबहादुर खड्काले सत्तासिन दलमा आस्था राख्ने शिक्षकहरुको पेशागत संगठनहरुले समेत राज्य सञ्चालकहरुको अधिनायकबादी शैलिलाई साथ दिदा शिक्षकहरुका समस्या आझेलमा परेको बताए ।

कानुनी प्रावधानलाई मिच्दै स्थानीय सरकारहरुले शिक्षकहरुलाई आस्थाको आधारमा सरुवा,बढुवा लगाएका बिषयमा दुःख दिने गरेको भन्दै उनले तत्काल त्यो बन्द नगरे आन्दोलन थाल्ने चेतावनी दिए । संघका पूर्व बरिष्ट केन्द्रीय उपाध्यक्ष गोविन्दप्रसाद न्यौपानेले दरबन्दी मिलान, शिक्षक सरुवा लगायतका बिषयमा पछिल्लो तिन बर्षमा स्थानीय सरकारले निर्लज्जतापूर्ण तरिकाले मनदाग्दी गरेको भन्दै बिधिबिधानलाई मिच्ने काम बन्द गर्न आग्रह गरे ।

कार्यक्रममा नेपाल शिक्षक संघ लुम्विनी प्रदेशका अध्यक्ष अर्जुनकुमार योगीले सरकार र नेपाल शिक्षक महासंघबीच भएको ३० बुदे सहमति महासंघको नेतृत्व सम्हालेकाहरु एकातिर बिधान मिच्ने र अर्कोतिर राज्य सञ्चालकहरुसंग मिल्दा मुद्दाहरु ओझेलमा परेको गुनासो गरे ।

नेपाल शिक्षक संघ दाङका अध्यक्ष युवराज बस्नेतको अध्यक्षतामा भएको सभाले संघका जिल्ला सचिव प्रकाश डाँगीले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र अर्थ सचिव पूर्णबहादुर केसीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसहमतिले पारित गरेको छ ।

कार्यक्रममा नेपाल शिक्षक संघ दाङको दोस्रो कार्य समिति–२०५० सालका पदाधिकारी तथा सदस्यहरु प्रमोद कुमार न्यौपाने, रमेशकुमार पाण्डेय,तुल्सीराम भुसाल,मेहरमान केसी, पुष्कर बस्नेत, निमबहादुर केसी, खिमबहादुर बस्नेत,बिनोद खड्का, शक्तिकुमार शर्मा, नारायण प्रसाद लामिछाने र दिधिराम अधिकारीलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो ।

संगठनको कामलाई प्रभवकारी रुपमा सञ्चालन गर्ने नेपाल शिक्षक संघ राप्ति गाउँपालिकालाई जिल्लाको उत्कृष्ट कार्य गर्ने संघको स्थानीय निकायका रुपमा सम्मान गरिएको थियो ।

नेपाल शिक्षक संघ दाङका उपाध्यक्ष अनन्ता केसीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा नेपाली काग्रेस दाङका सचिव शंकरप्रसाद डाँगी, क्षेत्रीय सभापति भूपबहादुर केसी, संघका पूर्व उपमहासचिव शुशीला सुवेदी, पूर्व अध्यक्ष कुमोद पोख्रेल, सम्मानित ब्यक्तित्व प्रमोदकुमार न्यौपाने, अखिल नेपाल शिक्षक संगठनका जिल्ला उपाध्याक्ष बिमला भट्टराई, नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला सचिव मीनराज शर्मा लगायतकाले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा सहभागिहरुलाई संघका उपाध्यक्ष योगराज खत्रीेले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको सहजिकरण नेपाल शिक्षक संघ दाङका सचिव प्रकाश डाँगीले गरेका थिए ।

प्रकाशित मिति : २०७७ फाल्गुन २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *