२०८२ जेष्ठ ३० गते शुक्रवार

तुलसीपुरमा वन उद्यम कार्यशाला


तुलसीपुर,फागुन ११ । तुलसीपुर उपमहानगरपालिकाले पहिलो पटक वन उद्यम सम्वन्धि कार्यशाला गरेको छ । प्रदेश एक्स्पोको अवसर पारेर आयोजना गरिएको कार्यशालामा वन सम्वन्धि विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरिएको छ । कृषि तथा सहकारी मन्त्री आरती पौडेलले नेपाललाई विश्वमा चिनाउन सामुदायिक वनको महत्व धेरै रहेको बताइन ।

रुख रोपेर मात्रै समृद्धि नआउने भन्दै उनले त्यसको वैज्ञानिक प्रयोगमा ध्यान दिनुपर्ने जोड दिइन । वनमा कृषिमा आधारित कुराहरु पनि लगाउन सकेन थप फाइदा लिन सकिने उनको कथन छ ।

उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका महाशाखा प्रमुख विजयराज सुवेदीले नेपालमा वनलाई उद्यमसंग जोड्न नसक्दा वाह्य सामानहरु आउने गरेको भन्दै चिन्ता जाहेर गरे ।

उनले उत्पादनमा प्रयोग नहुने वनको कुनै पनि अर्थ नहुने कुरा दोहोर्याए । उद्यमशिलताको विकास गर्ने खालको उत्पादनमा जोड दिनुपर्ने उनको भनाई छ । वन सम्पदामा धनी रहेको देशमा अरु देशबाट फर्निचर आयात हुन दुभाग्र्यपूर्ण कुरा रहेको उनको भनाई थियो ।

सामुदायिक वन उपभोक्ता महासंघकी केन्द्रीय अध्यक्ष भारती पाठकले वन क्षेत्रका सबै कुरा पारदर्शी हुनुपर्ने वताइन् । सामुदायिक वनमा महिला सहभागिताको अवस्था नाजुक रहेको भन्दै समावेशी नारा व्यवहारमा लागु गर्न नसकेकोमा दुःख व्यक्त गरिन् । सामुदायिक वन गरिबहरुका लागि हुनुपर्ने भन्दै अध्यक्ष पाठकले समुदायको वास्तविक सम्पत्ति अझैपनि वन्न नसकेको तर्क गरिन ।

उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयकी सचिव डा. राधा वाग्लेले वन क्षेत्रको व्यवस्थापनका लागि सबैले ध्यान दिनुपर्ने जोड दिइन् । सामुदायिक वनको कानुनमा महिलालाई पनि समान अधिकार दिएको भएपनि त्यो व्यवहारमा लागु हुन नसकेको उनको भनाई छ ।

सामुदायिक वन उपभोक्ता महासंघका सचिव ठाकुर भण्डारीले जलवायु परिवर्तन न्यूनिकरण गर्न सामुदायिक वनले महत्वपूर्ण भुमिका खेलेको चर्चा गरिन ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै नगरप्रमुख घनश्याम पाण्डेले राजधानी मुखी छलफललाई स्थानीयस्तरमा ल्याएको धारणा राखे । उनले सामुदायिक वनको संरक्षणसँगै त्यसबाट उद्यमशिलताको विकासमा पनि ध्यान दिनुपर्ने तर्क गरे ।

वनबाट पनि पैंसा आउँछ भन्ने सोचको विकास हुन नसकेको भन्दै अव सोच परिवर्तन गर्न आवश्यक रहेको उनले बताए ।उपमहानगरपालिका विपद् व्यवस्थापन समितिका संयोजक नवराज लामिछानेको अध्यक्षतामा कार्यक्रम भएको हो ।सो अवसरमा १६ वुँदे दाङ घोषणापत्र समेत सार्वजनिक गरिएको थियो ।

प्रकाशित मिति : २०७६ फाल्गुन ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *