नेपाल यस्तो देश हो जहाँ थुप्रै रोजगारीका सम्भावना छन् । तर राज्यले बेवास्ता गर्दा हरेक नेपालीलाई वैदेशिक रोजगारी लागि जानुपर्ने बाध्यता भएको छ । कोही देशै छोडेर त कोही रोजिरोटीको लागि परदेश जानुपर्ने बाध्यता छ । बषेनी चालीस हजारको हाराहारीमा नेपाली युवायुवतीहरु विदेश पलायन हुन्छन् । तीमध्ये प्रायः आधारभूत सिपमूलक तालिम नलिएरै जान्छन् जसले गर्दा विदेशमा धेरै दुःख पाएका हुन्छन् । त्यसकारण नेपाल राज्यले विदेश जाने नेपालीहरुलाई आधारभूत सीप सिकाउनु आवश्यक छ अनिमात्र वैदेशिक रोजगारमा गएका सबैलाई सहज र सरल हुन्छ । काम गर्ने क्षेत्र फरक फरक भएपनि भाषा र सीपमूलक तालिमको अभावले केही समस्या आउनु स्वभाविक नै हो ।
विश्वभर छरेर रहेका नेपालीहरु प्रायः केही समयका लागि रोजगारीमा गएका हुन्छन् । नेपालीहरु विभिन्न देशका मानिसहरुसँग भाषा, संस्कृति, रहनसहनका साथै विभिन्न कामहरु पनि सिक्ने मौका पाएका हुन्छन् । कति ले आफूले सिकेको सीप आफूले जानेको कुरा आफ्नै देशमा आएर गर्ने गर्छन् त कतिले विदेश मै बर्षौ बिताउने गर्छन् । यदि राज्यले सहयोग गर्ने र उचित वातावरण बनाई दिने हो भने सायद प्रायः नेपालीहरुले विदेशमा सिकेको सीपलाई स्वदेशमा नै आएर गर्थे । जसको लागि राज्यले मुख्य भूमिका खेल्नुपर्छ । हाम्रो देश नेपालमा अथाह प्राकृतिक स्रोत र साधन थुप्रै छन् । तर राज्यले गम्भीर भएर उचित ब्यबस्था सिर्जना गर्नुपर्छ र रोजगारीका अवसरका साथै देश विकाशको लागि टेवा पुग्छ । विदेश जानु नराम्रो होइन, सीमित समयका लागि विदेशको वातावरण र त्यहाँ आफूले सिकेको सिपलाई स्वदेशमै आएर लागू गर्नु महत्वपूर्ण कुरा हो ।
विदेसिएका तमाम दाजुभाइ, दिदीबहिनीहरुले राम्रो काम गरेर केही समयको लागि घर देश छोडेर रकम जम्मा गरेर आफ्नै जन्मभूमिमा थुप्रै प्रशंसनीय काम पनि गरेका छन् । तर अझ यसमा राज्यले पनि राम्रो ब्यबस्था मिलायो भने सबै सकारात्मक काम गर्नतिर आफ्नै देशमा आउँथे र हजारौले रोजगारी पनि पाउथे । काम सानो ठूलो हुँदैन हरेक काम आफ्नै किसिमको हुन्छ । हामी नेपाली संसारको जुनसुकै कुनामा होस् मेहनत गरेकै हुन्छौं र विदेशीहरुले पनि नेपाली मनलाई उत्कृष्ट मान्छ । विदेशमा गरिने हरेक कामलाई स्वदेशमै सम्मान गरेर गर्ने हो भने हामी सबै नेपाली बेरोजगार भएर बस्नु पर्दैन थियो । कुनै पनि काम होस् कृषि, होटेल, रेस्टुरेन्ट, ब्यवसाय, अरु कुनै औद्योगिक सबै कामको सम्मान गर्नुपर्छ र आफूले जानेको काम आफ्नै देशमा गर्नुपर्छ ।
हामीले अमेरिका, जापान, अस्ट्रेलिया, युरोपको मात्रै सपना देख्छौँ । आखिर त्यहाँ गएर दुःख गर्नै पर्छ । त्यो दुःख स्वदेश मै गरे डलर नकमाउला तर हजार त कमाउँछौ नि ! विदेशको लाख कमाइभन्दा स्वदेशको हजार कमाइ सुखी र फलदायी नै हुन्छ । हामी अर्काको देशमा सबै काम गर्छौं तर आफ्नो देशमा काम गर्न किन लाज मान्ने हो ?
यहाँ काम गर्दा सिस्टम सही छैन । आम्दानी कम छ, तर जन्मभूमिसँग लुकामारी खेल्दै आफ्नो समय सदुपयोग गर्नुमा छुट्टै आनन्द छ । जाँदा आकासमा आउँदा बाकसमा हुने हामी अभागी नेपालीलाई किन राज्यले अझै बुझ्न सकेको छैन । राज्यलाई मेरो गम्भीर प्रश्न ? सम्भावना धेरै हुदाँहँुदै फेरि पनि थुप्रै नेपाली दिनानुदिन किन परदेश लाग्छन् ? यहाँ हजार कमाउनेहरु ५० लाख खर्चेर किन अवैधानिक रुपमा गोरेको देशमा लाग्छन् ? अहिले देशमा भएको परिवर्तनसँगै स्थानीय सरकारले पनि विभिन्न सिपमूलक तालिम हरेक वडा तथा नगरपालिकामा दिन जरुरी भैसकेको छ र दिनुपर्छ । यस्ता तालिमको यो देशलाई धेरै खाँंचो छ । सिपमुलक तालिमले दक्ष जनशक्ति उत्पादन हुन्छ भन्ने कुरामा केही दुईमत छैन । अहिले देशमा रहेको बेरोजगार भयानक स्थितिमा छ । यस्तै प्रकारको तालिमले युवा जनशक्ति सक्षम र स्वरोजÞगार भएभने नेपालको गरिबी पनि कम हुँदै जानेछ।
अहिले बिना सीप विदेश गएर दुःख पाऊने युवाहरु पनि आफ्नो सीप भएमा आफूले चाहेको काम पाउन सक्नेछन् । अहिले नेपाल तथा विश्वमा पर्यटन तथा हस्पिटालिटी व्यवसाय ऊचाईमा छ । त्यसैले विशेषगरी यो क्षेत्रलाई मध्यनजर गर्दै यी बिषयसँग सम्बन्धित तालिम दिन जरुरी छ।म आफूले पनि यही क्षेत्रलाई प्राथमिकता दिन्छु ।
कुनैबेला सल्यानमा गाई गोठालो, घाँस दाउरा गर्ने सामन्य परिवारको मान्छे यही हस्पिटालिटी क्षेत्रमा मैले पर्यटन मन्त्रालयअन्तरगत कलेजबाट डिप्लोमा कोर्ष गरेर काठमाडौँका पाँचतारे होटेलमा सजिलै जागिर गरे । अन्तर्वार्ता फेस गरेर फ्री भिसामा विदेश गए । जहाँ विभिन्न देशका मानिससँग धेरै काम सिके र सिकाउने मौका पाए । लगभग ६ बर्षको अनुभवपछि आफ्नै जन्मभूमिमा आफूले जानेको सीपलाई सदुपयोग गरिरहेको छु । अरुलाई सिकाउने काम पनि गर्छु । हामी सबैले यो बुझ्न जरुरी छ कि डिग्री गर्नु राम्रो हो तर पढ्न सकिएन भने खाली बस्नुभन्दा यस्तै आधारभूत सिपमूलक तालिम सिक्नुपर्छ जहाँ गए पनि काम लाग्छ । विभिन्न क्षेत्रका फरक–फरक तालिम लिनु आवश्यक छ र राज्यले पनि यसको उचित ब्यवस्थापन गर्नुपर्छ ।
म हरेक नेपाली युवायुवतीलाई आग्रह गर्न चाहन्छु, खाली नबस्नुस केही न केही सीप सिक्नुस् । लोकसेवाको लागि मात्रै तयारी होइन अरु क्षेत्रलाई पनि मान्यता दिनुस् । विदेशमा हुनेले एक न एक दिन जन्मभूमि आउनै पर्छ । त्यसैले आफूले कमाएको रकम बचत गर्नुस् । समय आएपछि नेपाल आउनुस्, आफूले जानेको सीप यहि लागू गर्नुस् ।
नीमकान्त डाँगी
सञ्चालकः ईट ओ क्लक रेस्टुरेन्ट, घोराही, दाङ