दाङ, बैशाख ३० ।
बिद्युतीय माध्यमबाट अनलाइन जुवा –बेटिङ) खेलाएको आरोपमा तीन जना पक्राउ परेका छन् ।
सुर्खेत प्रहरीका अनुसार पक्राउ पर्नेमा एक जना शिक्षक र दुई जना ब्यापारी छन् ।
सामाजिक सञ्जाल इन्टरनेट माध्यमबाट ठगी गर्ने मनसायले प्रलोभनमा पारी हातजित हुने गरी अनलाइन जुवा (सट्टेबाजी) खेलाउने उदेश्यले बिभिन्न बैंकहरुमा खाता खोली दुरुपयोग गरी शंकास्पद कारोवारो गरेको गोप्य तथा प्राविधिक सूचनाका आधारमा अनुसन्धान गर्दा शिक्षक बोहरासहित तीन जना पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा जिल्लाको पञ्चपुरी नगरपालिका – ९ का पेशाले ३९ बर्षीय शिक्षक पेशा महेन्द्रकुमार बोहरा, सोही ठाउँका ४२ बर्षीय व्यापारी यामलाल बिक र होटेलका संचालक ४४ बर्षीय डम्वरबहादुर बिक रहेका छन् ।
सुर्खेतका प्रहरी प्रबक्ता डिएसपी मोहनजंग बुढथापाका अनुसार पक्राउ परेका मध्य प्रारम्भीक अनुसन्धान बाट शिक्षक बोहराले शंकाष्पद करिब २ करोड ४६ लाख वरावरको बैंकिङ कारोवार गरेको तथ्य खुलेको छ । जस्ले विभिन्न बैंकमा ६ वटा खाता खोली ठगीमा संलग्न भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका मध्य यामलालको पनि विभिन्न बैंकमा ५ वटा खाता खोली संकास्पद कारोवार गरेको र होटेल संचालक डम्वरले विभिन्न बैंकमा ९ वटा खाता खोली त्यसको दुरुपयोग गरी शंकास्पद कारोवार गरेको प्रारम्भीक अनुसन्धान बाट खुलेको प्रहरीले जनाएको छ । उनीहरुको बारेमा थप अनुसन्धान जारी रहेको डिएसपी बुढथापाले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटिएको प्रहरी टोलीले बुधबार उनीहरुलार्य नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले पक्राउ परेका तीनै जना बिरुद्ध बैंकिङ कसुर, कसुर, जुवा (सट्टेबाजी) तथा सम्पत्ति शुद्धीकरण लगायत कसुरमा प्रारम्भिक चरणमा अनुसन्धान थालिएको जानकारी दिएको छ ।