
दाङ, चैत १४ । जिल्लामा संचालित सिमेन्ट उद्योगका पहुँच मार्ग कालोपत्रे गर्न माग गर्दै सिमेन्ट उद्योग प्रभावित क्षेत्रका नागरिक आन्दोलित बनेका छन् ।
यहाँका सिमेन्ट उद्योगहरुले चुनढुँगा ओसार्ने सडक खण्ड जिर्ण र धुलाम्मे बनेपछि प्रभावित क्षेत्रका नागरिक आन्दोलनमा उत्रिएका हुन ।
घोराही तापा – स्यूजा सडक खण्डको सिस्नेखोलामा स्थानीय सडक तत्काल गुणस्तरिय बनाउनु पर्ने वा कालोपत्रे गर्नुपर्ने माग गर्दै टिप्पर संचालनमा रोक लगाएका हुन ।
जिल्लाको घोराहीमा संचालित सगरमाथा सिमेन्ट उद्योग तुलसीपिुरका संचालित सोनापुर सिमेन्ट उद्योग र लमहीमा संचालित सम्राट सिमेन्ट उद्योगले यही क्षेत्रवाट पहाड उत्खनन् गरि कच्चा पदार्थ चुनढुँगा ओसार्दै आएका छन् ।
घोराहीको नवलपुरदेखि चुनढुँगा खानीसम्म जाने सडक खण्डमा पर्ने डबरी, धाइरेखुट्टी, असारे, सिस्नेखोला, पालुथान, रानी दमार, गोठ धारा, कुमाकी, सवारीकोट, छिटनेटा, जस्पुर, छेकबार, अम्लबास, हर्नौक, काउले, जुम्लेपानी, कमिरेचौर, श्रीवारी लगायतका गाउँहरूका स्थानीय बिरोधमा उत्रिएका छन् ।
त्यस्तै स्युजा तर्फका बलाजुरे, धनचौर, दर्मा, पुरुङ, ट्याङट्याङ खोला, कालिमाटी, स्युजा र खारा क्षेत्र बाट सिमेन्ट उद्योगका लागि कच्चा पदार्थ ओसार्न दर्जनौं टिप्पर गुड्दा बाटो जिर्ण बनेको र त्यसले गर्दा आँफुहरुको स्वास्थ्य र जीवन प्रभावित बनेको भन्दै आन्दोलित बनेका हुन ।
अदालतमा स्थानीयले दायर गरेको मुद्दा बिचाराधिन रहेको बाहाना बनाएर सडक मर्मत र स्तरोन्नति गर्न सिमेन्ट उद्योगहरु पन्छिन खोजेको र त्यसले गर्दा आँफहरुको जीवन यापन कष्टकर बनेको स्थानीयले बताएका छन् ।
सिमेन्ट उद्योगका टिप्पर गुड्ने पहाडी सडक खण्डहरु सुख्खा समयमा धुलाम्मे र बर्षामा हिल्लामे हुने गर्छन ।
असारे टोल विकास संस्थाका अध्यक्ष रामबहादुर पुनले उद्योगको पहुँच मार्ग पूर्ण रूपमा बिग्रिएको र अब स्थानीय जनता चुप लागेर बस्ने अवस्था नरहेको बताए ।
स्थानीयका टिप्परहरूले क्षमता भन्दा बढी चुनढुंङ्गा बोक्ने गरेको, तीव्र गतिमा सवारी चलाउने जस्ता कारणले सडकको अवस्था जिर्ण बनेको बताएका छन् ।
पालुथानका युवा कमल आचार्यले सडक सुरक्षाको कानुन सबैका लागि समान रूपमा लागू हुने तर उद्योग र ढुवानीकर्ताले उलंघन गरिरहेको बताए ।
स्थानीय नारायणप्रसाद घर्तीले सडकको नियमित मर्मतसम्भार नगर्ने, धुलो नियन्त्रणका लागि पानी नछर्किने, अत्यधिक भार बोकेर सवारी चलाउने जस्ता समस्या समाधान नभए आन्दोलन थप अगाडि बढ्ने बताए ।
स्थानीयले प्रहरी प्रशासनसँग टिप्परहरूको अनुगमन बढाउन माग गरेका छन् ।
स्थानीयको बिरोध कार्यक्रममा सहभागी घोराही उपमहानगरपालिका – १७ का वडा अध्यक्ष रामलौटन चौधरीले पनि स्थानीयले भोग्दै आएको समस्या समाधान गर्न सरोकारवालाहरु लाग्नु पर्ने बताए ।
स्थानीयका अनुसार ती सडक खण्डमा हाल दैनिक एक सयभन्दा बढी टिप्पर संचालन हुँदै आएका छन् ।
शुक्रबारदेखि स्थानीयले टिप्पर संचालनमा रोक लगाउन थालेका हुन ।
यसअघि भएका सहमती उद्योगहरुले कार्यान्वयन नगरेको भन्दै आक्रोस पोखेका छन् ।

