दाङ , चैत १३। कपिलबस्तु प्रहरीले सार्वजनिक शान्तिमा खलल पुर्याएको आरोपमा चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेका मध्य दुई जना बिरुद्ध सार्वजनिक शान्ति खलल सम्बन्धि मुद्दामा र थप दुई जनालाई बिद्युतिय अपराध सम्बन्धि मुद्दामा अनुसन्धान भइ रहेको छ ।
चैत ७ गते कपिलबस्तुको महाराजगंज नगरपालिका – २ बर्गदवा स्थित काली मन्दिरमा ढुँगा मुडा गरि क्षति पुर्याइएको थियो ।
सोही बिषयमा हिन्दु र मुस्लिम समुदायका बीचमा बिबाद सृजना भएको थियो । सो बिबादका कारण कपिलबस्तु नगरपालिका – ४ कोदहवा चोकमा गुडिरहेको मोटरसाइकलमा सवार मानिसलाई रोकी त्यसमाथि तोडफोड हुनुका साथै मोटरसाइकल चालक माथि लाठी, हेलमेट, बाला तथा मुक्काले कुटपिट गरिएको थियो ।
त्यसक्रममा चालक माथि कुटपिट हुनुका साथै मोटरसाइकल तथा मोवाइलमा पनि क्षति पुगेको थियो ।
त्यो घटना पछि धर्म जातजाती सम्प्रदायका ब्यक्तिहरुका बीचको सम्बन्ध खलल पुर्याउने कार्यमा ५ / ६ जना मध्य दुई जनाको पहिचान गरि पक्राउ गरिएको हो ।
कपिलबस्तु नगरपालिका – ४ का २६ बर्षीय राज भनिने दुर्गेश यादव र कपिलबस्तु – २ का २२ बर्षीय पवनकुमार गुप्तालाई प्रहरीले पक्राउ गरि सार्वजनिक शान्तिमा खलल पुर्याएको सम्बन्धि मुद्दामा अनुसन्धान अगाडि बढाएको छ ।
स्थानीय प्रशासन बाट बुधबार पाँच दिनको म्याद थप भइ उनीहरु माथि थप अनुसन्धान भइ हरेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी रिपेन्द्रकुमार सिंहले जानकारी दिए ।
त्यस्तै सोही घटनामा संलग्न मध्य थप दुई जनालाई बिद्युतिय अपराध कसुरमा पक्राउ गरि अनुसन्धान भइ रहेको छ । जस्मा बुद्धभूमी नगरपालिका – ६ का २१ बर्षीय मुस्ताक नाउ र कपिलबस्तु नगरपालिका – १ का २१ बर्षीय जितेन्द्र कहार छन् ।
जस्ले चैत ७ गते हिन्दु र मुस्लिम समुदायका बीचमा भएको बिबाद तथा झगडा सामाजिक संजालमा राखेर बिभिन्न जातजाति र समुदायलाई भड्काउने भूमिका खेलेको पाइएको डिएसपी सिंहले बताए ।
उनीहरु माथि बिभिन्न जातजाति र सम्प्रदाय बीचको सु–सम्बन्धलाई खलल पार्ने, घृणा वा द्धेष फैलाउने कार्य गरेकोमा बिद्युतिय कारोबार ऐन २०६३ बमोजिमको कसुरमा संलग्न रहेको अभियोगसहित स्थानीय प्रशासनले नाउलाई पाँच दिन र कहारलाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले अनुमति प्रदान गरेको डिएसपी सिंहले जानकारी दिए ।
जस्का कारण बिबादले उग्ररुप लिन थालेपछि स्थानीय प्रशासनले कफ्यू समेत लगाउनु परेको थियो ।