तुलसीपुर, चैत १३ । दाङमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते छन् ।
दुर्घटनामा परि घोराही उपमहानगरपालिका –१० का ३० वर्षीइ बेलबहादुर पुनको घटनास्थलमै मृत्यु भएको जिल्लाका निमित्त प्रहरी प्रबक्ता प्रहरी निरीक्षक बाबुराम बस्नेतले बताए । उनी मोटरसाइकलको पछाडि सवार थिए ।
मोटरसाइकल चालक घोराही–१२ का ४० बर्षीय धनबहादुर घर्ती गम्भीर घाइते छन । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको पहरी निरीक्षक बस्नेतले जानकारी दिए ।
घोराहीबाट तुलसीपुर तर्फ आउँदै गरेको रा २ प ७२६५ नम्बरको मोटरसाइकल राति पौने १० बजेतिर कलभर्ट निर्माण गर्न खनेको खाडलमा खसेको थियो ।
चारलेन सडक खण्ड बिस्तारका लागि खनिएको खाडलमा मोटरसाइकल खसेको थियो ।
केही समय पहिले यही सडक खण्डमा पुल निर्माण गर्न खनेको खाडलमा परेर दुई युवकको घटनास्थलमै मृत्यु भएको थियो ।