दाङ, चैत ११ । सल्यानका एक युवाको मलेसियामा रोल्पाका एक युवाको चक्कु प्रहार बाट हत्या भएको छ । यो घटना आइतबार रातिको हो ।
वैदेशिक रोजगारीको शिलशिलामा दुई बर्ष पहिले मलेसिया गएका सल्यानको कपुरकोट गाउँपालिका–३ दमारखोलाका २१ वर्षीय बेदबहादुर बुढा माथि रोल्पाको गंगादेव गाउँपालिका–३ नाउली भालुमारेका २५ वर्षीय चोपीलाल डाँगीले चक्कु प्रहार गरि हत्या गरेको अभियोग रहेको छ ।
हत्या गरिएका बुढाको घर परिवार पछिल्लो समय दाङको शान्तिनगर गाउँपालिकाको पातेटाकुरामा पनि बस्दै आएका छन् ।
सल्यान कपुरकोट गाउँपालिका–३ का वडाध्यक्ष प्रदिप खड्काले घटनाको पुष्टि गरे । मलेसियामै बस्दै आएका हत्या गरिएका बेदबहादुरका काका पर्शुराम बुढाले वडाध्यक्ष खड्कालाई फोन सम्पर्क गरि घटना बारे अवगत गराएका थिए ।
पर्शुरामले आफ्ना भतिजा बेदबहादुरको आइतबार राति साढे ९ देखि १० बजेको बीचमा हत्या भएको बताए । बेदबहादुर रातिमा तल्लो तलामा सौचालय जान गएको समयमा चोपीलालले उनलाई पछाडि बाट ढाडमा चक्कु प्रहार गरि हत्या गरेका थिए ।
अभियुक्त डाँगी र हत्या गरिएका बुढा एउटै घरमा बस्दै आएका थिए । बुढा माथिल्लो तला र डाँगी तल्लो तलामा बस्दै आएका थिए ।
वडाध्यक्ष खड्काका अनुसार एक बर्ष पहिले बुढा र डाँगीका बीचमा सामान्ने बिबाद भएको थियो । त्यही बिषयलाई लिएर उनीहरुका बीचमा भेट हुँदा घोचपेच चल्दै आएको थियो ।
त्यो दिन पनि मदिराले मातेका डाँगीलाई बुढा लगाएतका अन्य नेपालीले ‘आज त सोल्टी झ्याप’ भन्दै केही बेर अघि जिस्काएका थिए । त्यसको केही बेर पछि बुढा सौचालय जानका लागि तल्लो कोठामा झरेको समयमा डाँगीले पछाडि बाट बुढामाथी चक्कु प्रहार गरेका थिए ।
बुढामाथि चक्कु प्रहार पछि डाँगी घर बाट निस्किएका थिए । आधा घन्टा पछि मात्रै संगै बस्ने अन्य नेपालीले घटना थाहाँ पाइ मालिकलाई अबगत गराइ अस्पताल पुर्याउँदा चिकित्सकले बुढालाई मृत घोषणा गरेका थिए ।
हत्या आरोपी डाँगी प्रहरी नियन्त्रणमा छन् । मलेसिया प्रहरीले संगै बस्ने अन्य आठ जना नेपालीलाई पनि घटना अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।
पोष्ट मार्टकका लागि बुढाको शब अस्पतालमा राखिएको छ ।
पोष्टमार्टमको प्रक्रिया पुरा भइ सकेपछि र अनुसन्धान सकिएपछि मात्रै बुढाको शब नेपाल ल्याउने प्रक्रिया सुरु हुने त्यहाँ बस्ने नेपालीले जानकारी दिएका छन् ।
हत्या गरिएका बुढा अबिबाहित रहेको वडाध्यक्ष खड्काले बताए ।
