सर्लाही, फागुन १६। नेपाल कांग्रेसका सभापति गगन कुमार थापाले आगामी पाँच वर्षभित्र मधेशका दलित तथा विपन्न घरपरिवारको बस्तीमा उल्लेखनीय परिवर्तन ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
शनिबार सर्लाहीको ईश्वरपुर – ६ बयलबास बजारमा चुनाबी सभालाई सम्बोधन गर्दै उनले चुनावी प्रतिस्पर्धामा हिडिरहदा मधेका दलित तथा विपन्न परिवारमा हरेको बस्ती अबको पाँच वर्षमा पुर्ण रुपमा परिवर्तन हुने दाबी गरे ।
थापाले मधेशको शिक्षा क्षेत्र अहिले गुणस्तरीयतामा पछाडि परेको उल्लेख गर्दै अबको पाँच वर्षमा शिक्षा प्रणालीमा सुधार गरिने दाबी गरे । ‘मधेशलाई गुणस्तरीय शिक्षामा अगाडि ल्याइनेछ ।’ उनले भने ।
त्यस्तै कृषि क्षेत्रमा देखिएको मलखाद अभाव र बिचौलियाको समस्या बारे बोल्दै उनले अब किसानले सोझै पसलबाट मलखाद किन्न सक्ने व्यवस्था मिलाइने बताए । बिचौलिया हटाएर पारदर्शी वितरण प्रणाली लागू गरिने उनले बताएका थिए ।
काँग्रेस सभापति थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति लक्षित टिप्पणी गर्दै ‘हावा हुण्डरीमा एकछिन अडिक हुन’ मतदातालाई आग्रह गरे ।
२०६४ सालमा पनि यस्तै राजनीतिक लहर आएको तर अपेक्षित उपलब्धि हासिल नभएको उल्लेख गर्दै सभापति थापाले अहिले पनि त्यस्तै अवस्था दोहोरिन सक्ने संकेत गरे ।
थापाले परिवर्तनका लागि सबै राजनीतिक शक्तिको सहकार्य आवश्यक रहेको भन्दै नेपाली कांग्रेस, नेकपा एमाले, अन्य कम्युनिष्ट तथा मधेसवादी दलहरूको सहयोग आवश्यक पर्ने बताए । संविधान संशोधनमार्फत संरचनात्मक सुधार नगरी दीगो परिवर्तन सम्भव नहुने उनको भनाइ थियो।
थापाले कांग्रेसको मुद्दा देशलाई पाँच वर्षमा तीव्र गतिमा बिना दुर्घटना अघि बढाउनु रहेको बताएका थिए । २०४६ सालपछि भएका राजनीतिक गतिविधि र व्यक्तिहरूको छानबिन गरिने दाबी गर्दै उनले छानबिनको सुरुआत आफू र पार्टी सभापतिबाटै हुने बताएका थिए ।
काँग्रेस बिजय भए प्रत्येक वर्ष ५० हजार युवाले रोजगारी पाउने थापाले दावी गरे ।
