
दाङ,साउन ३ । होटेलमा आत्महत्या गरेको अवस्थामा मृत अवस्थामा फेला परेका युवक विरुद्ध संगै बसेकी युवतीले नै केही समय पहिले प्रहरीमा जवरजस्ती करणी सम्वन्धि मुद्दा हालेको रहस्य खुलेको छ ।
दाङको तुलसीपुरस्थित मानसरोवर होटेलमा बास बसेका युवायुवती मध्य बाँकेको कोहलपुर नगरपालिका दश विगाहा निवासी अन्दाजी ३५ बर्षीय रमेश हमाल ट्वाईलेटको भेन्टिलेटरमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेका थिए ।
त्यसपछि उनीसंग होटेलमा संगै बसेकी पूर्वी रुकुमको सिस्ने गाउँपालिका वडा नं. ५ टाकुरा निवासी २० बर्षीया विमला विकलार्ई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार पक्राउ परेकी तीनै युवतीले हमाल विरुद्ध केही समय पहिले ईलाका प्रहरी कार्यालय तुलसीपुरमा आफुलाई जवरजस्ती करणी गरेको भन्दै मुद्दा हालेकी थिइन ।
जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले मुद्दा हालेको केही समयको अन्तरालमा युवती आँफैले मुद्दा फिर्ता लिएको पनि जानकारी दिए ।
‘पक्राउ परेकी युवतीले झन्डै दुई÷तीन महिला अगाडि मात्रै हमाल विरुद्ध जवरजस्ती करणी गरेको भन्ने मुद्दा हालेको र पछि आफै फिर्ता लिएको देखिन्छ,’ एसपी पाण्डेले भने ‘सायद उनीहरुको बाहिरै लेनदेनको कुरापछि मुद्दा फिर्ता लिएको हुन सक्ने आशंका गर्न सकिन्छ ।’ होटेलमा मृत फेला परेका हमाल विवाहित व्यक्ति हुन । पक्राउ परेकी युवती भने अविवाहित रहेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार उनीहरु दुबैजना असार ३१ गतेदेखि तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ घोराही रोडस्थित मानसरोबर होटेलमा बस्दै आएका थिए ।
तर विहीवार मध्यरातको समयमा हमालले डोरीले पासो लगाएर ट्वाईलेटमा आत्महत्या गरेको भन्ने वयान विकले प्रहरी समक्ष गरेकी छन् । घटनावारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
