२०८३ असार १४ गते आइतवार

संस्कार र संस्कृति नभएको रचना वास्तविक सिर्जना हैन – उपकुलपति कोईराला


छवि पुरी,
दाङ,असार ३० । नेपाल संस्कृत विश्व विद्यालयका उपकुलपति प्राध्यापक डा. कुलप्रसाद कोइरालाले हरेक युगमा जनताले सर्वमान्य बोल्ने भाषाको प्रयोग हुने बताएका छन् । नेपाली भाषा साहित्यका आदिकवि भानुुभक्त आचार्यको २०६औं जन्मजयन्तिका अवसरमा आइतवार लेखक संघ दाङले आयोजना गरेको कार्यक्रममा कोईरालाले प्रगतिशिलता देशकाल परिस्थिति अनुसार समयसापेक्ष हुँदै जाने भएपनि आदिकवि आचार्यका कृतिमा लोकजीवन अनन्तकालसम्म भेटिने तर्क गरे ।

कार्यक्रमका प्रमुख अतिथि कोइरालाले आदिकवि भानुभक्त आचार्यमा जीवतत्व, युगचेतना र परिचयत्व पाइने भएको हुँदा उनी आदिकवि बन्न सफल भएको चर्चा गरे । संस्कार र संस्कृति नभएको रचना वास्तविक सिर्जना हुन नसक्ने भन्दै प्रा.डा.कोईरालाले भानुभक्तका सबै कृतित्व र व्यक्तित्वमा जीवन, जगत र परिकल्पनाको सारभूत तत्व पाइने बताए ।
उपकुलपति कोइरालाले भानुभक्तको साहित्यमा लोकजीवनको इतिहास बोल्ने यथार्थ चरित्र महसुस हुने भएकाले आज पनि उनका कृति उत्तिकै सान्दर्भिक रहेको चर्चा गरे ।
उपकुलपति कोइरालाले आदिकवि भानुभक्त आचार्यका विषयमा सोध गर्ने विद्यार्थीले सुरुमा सकारात्मक विचार राखे पनि अन्त्यमा नकारात्मकतालाई स्थान दिनु कपोलकल्पित र अध्ययन विनाको आरोप रहेका धारणा राखे । संस्कृत विश्वविद्यालयले अव यस विषयमा ठोस कदम चालेर अघि बढ्ने योजना बनाएको उनको कथन थियो । नेपाली साहित्यमा अध्ययनशिलताको कमि भन्दापनि त्यसको गहिराईमा पुगेर मोति खोज्ने क्रममा स्खलन हुँदै गएकोमा उनले दुःख व्यक्त गरे ।

भाषिक सहजतासहितका भानुभक्त आचार्यका कृतिले नेपाली समाजमा पठनपाठन र संस्कृतिको बिकास गर्न तथा सांस्कृतिक धार्मिक, सामाजिक एवं नैतिक चेतनाको विकास गर्न पुर्याएको योगदानका कारण भानुभक्तलाई नेपाली समाजले साहित्यिक अगुवाका रुपमा लिँदै आएको छ ।

बि.स १८७१ असार २९ गते तनँहुको चुँदी रम्घामा पिता धन्नजय र माता धर्मावतीका पुत्रका रुपमा भानुभक्तको जन्म भएको थियो । आचार्यले ‘अध्यात्मानारायण’को भानुवाद गरि नेपाली समाजमा नेपाली मौलिक भाषा, साहित्य , धर्म, दर्शन र राष्ट्रियता वीजारोपण गर्नु भएको इतिहास छ ।

उनका ‘प्रश्नोतर’ १९१०, ‘भक्तमाला’ १९१० ‘वधुशिक्षा’ १९१९ ‘रामगीता’ १९२५ तथा दर्जनौ फटकर तथा साहित्य कृति पनि प्रकाशित छन् ।

लेखक संघ दाङका अध्यक्ष खगराज न्यौंपानेको अध्यक्षतामा भएको कार्यक्रममा भानुभक्तको शालिक संघको परिसरमा प्रमुख अतिथि प्रा.डा. कोइरालालगायत अग्रज साहित्यकार सर्जकहरुद्वारा अनावरण गरिएको हो ।

सो अवसरमा भानुभक्तको व्यक्तित्व र कृतित्वका बारेमा साहित्कारद्वय डा. हिमलाल पन्थी र डा. कृष्णराज डिसीले प्रकाश पारेका थिए । त्यस्तै, भानुजयन्तिका अवसरमा विभिन्न श्रष्टाहरुले आचार्यलाई सम्झना गर्दै आफ्ना रचना वाचन गरेका थिए । रचना वाचन गर्ने साहित्यकारहरुमा मधुसुदन गौतम, दुर्गाप्रसाद अधिकारी, गोपाल प्रसाद भुसाल अभिलाषी, डा. लोकराज पराजुली, निमानन्द रिजाल, कमला रिजाल, संघका संस्थापक अध्यक्ष शंकर पौडेल, गिरिराज शर्मा, कमलमणि देवकोटा, संगीता उपाध्याय, राप्ती साहित्य परिषदका केन्द्रीय अध्यक्ष पुरुषोत्तम खनाललगायत थिए । संघकी कोषाध्यक्ष सन्ध्या रेग्मीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सहसचिव हुमबहादुर डिसीले गरेका हुन ।

प्रकाशित मिति : २०७६ असार ३० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *