तुलसीपुर , कात्तिक ३० । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भूमी सम्बन्धी ऐन अब हिउँदे अधिवेशनमै टुंगोमा पुग्ने गरी तयारी भइरहेको बताएका छन् ।
आइतबार मुक्त कमैया समाज, कमैया महिला जागरण समाज र मुक्त कमलहरी विकास मञ्चको संयुक्त प्रतिनिधिमण्डलसँग भएको छलफलमा उनले ऐन निर्माणको प्रक्रिया अघि बढि सकेको बताएका हुन ।
भूमि ऐनको मस्यौदा तयार भइसकेको हुँदा सरोकारवाला सबै पक्षसँग छलफल गरेर सुझावका आधारमा अन्तिम रूप दिइने उनले बताएका थिए । आचार्यले सबैको भावना समेटेर भूमी सम्बन्धी कानुन बन्ने बताए ।
प्रदेशलाई जग्गा दिने अधिकार नभएपनि सामाजिक समस्या समाधान हुनेगरी ऐन ल्याउने उनले प्रतिबद्धता जनाएका थिए ।
मुक्त कमैया समाजका अध्यक्ष पशुपति चौधरी, कमैया महिला जागरण समाजकी अध्यक्ष कृष्णी थारु कुमाल र मुक्त कमलहरी विकास मञ्चकी अध्यक्ष हिरा चौधरीले भूमी अधिकारसँगै शिक्षा, स्वास्थ्य, रोजगारी, उद्यमजस्ता आधारभूत विषय पनि कानुनमार्फत सुनिश्चित गर्न आवश्यक रहेको बताएका थिए ।
मुक्त कमैया समाजका अध्यक्ष चौधरीले पुर्नस्थापना पर्खिरहेका छुट कमैयाका पक्षमा स्पष्ट नीति आवश्यक रहेको र मुक्त कमलहरी विकास मञ्चकी अध्यक्ष हिरा चौधरीले मुक्त कमलहरीका लागि जीवनयापनमा सहयोग पुग्ने स्पष्ट नीति बनाउन आग्रह गरेकी थिइन ।
