दाङ, असोज २२ । बर्दियाको गेरुवा गाउँपालिका – ५ झबहीकी १० बर्षीया भारती (एन्जल) देउवाको हत्या आरोपी सोही वडाकै २१ बर्षीय समिर सुनार रहेको प्रहरीले जनाएको छ ।
बुधबार बेलुकी पख जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरि प्रहरीले सुनारले नै एन्जलको हत्या गरेको तथ्य सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी प्रमुख एसपी सरोज पौडेलले गर गहना देखेर प्रलोभनमा परि सुनारले एन्जलको हत्या गरेको बताए ।
माछा मार्न स्थानीय गेरुवा – ५ मुलपानीको गुडिखोला किनारमा बसिरहेका सुनारले असोज १७ गते दिउँसो साइकलमा आइ रहेकी एन्जलाले दुई कानमा लगाएका एक / एक आनाको सुनको मुन्द्री र घाँटीमा दुई तोलाको चाँदीको सिक्रीदेखेपछि एकाएक ती लुट्ने मनसाय बुनेको प्रहरीले बताएको छ ।
गहना लुट्ने क्रममा बालिका चिच्याउँदै प्रहरी र घर समाजमा भनिदिने चेतावनी दिन थालेपछि आँफु जोगिन बालिकाको मुख र घाँटी अठ्याएर हत्या गरेको साबिति बयान सुनारले प्रहरी समक्ष गरेका छन् ।
हत्या पछि समिरले एन्जलाले प्रयोग गरेको साइकल पानीमा, चप्पल झाडीमा फेला परेका थिए । त्यसको दुई दिन पछि एन्जलको लास गुडिखोला किनारमा बालुवामा गाडेको अवस्थामा फेला परेको थियो ।
घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

