२०८२ कार्तिक २२ गते शनिवार

चाडपर्वलाई भड्किलो नबनाउन पत्रकारहरुको आग्रह

घोराही, भदौ ४ । नेपाल पत्रकार महासंघ दाङ शाखा महिला विभागले बुधबार घोराहीमा तीज मिलन कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमका बक्ताहरुले चाडपर्वलाई भड्किलो नबनाउन आग्रह गरेका छन् ।

महासंघका केन्द्रीय सचिव सविन प्रिया सनले चाडपर्वलाई कम खर्चिलो बनाउनु पर्ने बताए ।
चाडपर्वलाई रमाइलो र संस्कृतिको संरक्षणका लागि मनाउनु पर्ने भन्दै उनले अनावश्यक खर्च गरि अरुलाई देखाउन गरिने प्रतिष्पर्धाले समाजमा नकारात्मक असर पर्ने बताए ।


‘आजभोलि तीज र अन्य चाडपर्वहरू देखाउनकै लागि मनाउने प्रवृत्ति बढेको छ । यो ठीक होइन । आफ्नो आर्थिक हैसियतअनुसार पर्वलाई रमाइलो बनाउनु पर्छ,’ प्रियासनले भने ।
पर्वलाई आडम्बररहित, सरल र सामाजिक सद्भाव बढाउने माध्यमका रूपमा मनाउन सुझाए ।

कार्यक्रमलाई सम्बोधन गर्दै महासंघकी केन्द्रीय सदस्य लिला शाहले महिलाका लागि तीजले आत्मबल, उमंग र उत्साह दिने अवसर निर्माण गर्न लाग्नु पर्ने बताइन ।

‘तीज केवल गीत–नृत्यमा सीमित छैन । यसले हाम्रो संस्कृतिको संरक्षण गर्ने र महिलाबीच आपसी सन्देश प्रवाह गर्ने काम गर्छ,’ शाहले भनिन् ‘ तर यो पर्वलाई व्यावसायिकता र खर्चिलो प्रतिष्पर्धामा जकडिन दिनु हुँदैन ।’

महासंघका लुम्बिनी प्रदेश महासचिव पाण्डव शर्माले पर्वले ल्याउने सामाजिक एकताको पक्षमा सबैले जोड दिनुपर्ने बताएका थिए ।

‘पर्व भनेको सबै मिलेर मनाउने साझा खुशी हो,’ उनले भने ‘ यसलाई खर्चिलो बनाउने होइन, सामाजिक सौहार्द र परिवारमा खुसी ल्याउने गरि मनाउनु पर्छ ।’

महासंघका दाङ शाखा अध्यक्ष सन्तोष सुवेदीले तीज मिलन कार्यक्रमले पत्रकारबीचको आत्मिय सम्बन्ध बलियो हुने विश्वास ब्यक्त गरे ।

‘पत्रकार महासंघ केवल पेशागत अधिकारका लागि मात्र होइन, सामाजिक र सांस्कृतिक क्षेत्रको संरक्षणका लागि पनि जिम्मेवारी बहन गर्नुपर्छ,’ अध्यक्ष सुवेदीले भने ‘महिला विभागले आयोजना गरेको यो कार्यक्रमले दाङ जिल्लामा महिला पत्रकारहरूको सक्रियता र सहभागिता झल्काएको छ ।’

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल प्रेस युनियनकी केन्द्रीय उपमहासचिव सुलोचना पोख्रेलले तीजलाई महिला सशक्तीकरणसँग जोडेर बुझ्नुपर्ने बताइन ।

‘तीज महिलाहरूको साझा उत्सव हो । यसमा महिलाहरूले आफ्ना समस्या, सपना र संघर्षलाई गीतमार्फत अभिव्यक्त गर्ने अवसर पाउँछन्,’ उनले भनिन् ‘यसलाई केवल भोज, महंगा लुगाफाटा र बाह्य प्रदर्शनमा सीमित पार्दा यसको वास्तविक मूल्य घट्छ भन्ने लाग्छ ।’

प्रेस सेन्टरकी केन्द्रीय उपमहासचिव लक्ष्मी आचार्यले तीज पर्वले महिला पत्रकारहरूको हौंसला बढाउने बताइन ।


पत्रकार महिलाहरूले पेशागत दायित्वसँगै संस्कृतिको जगेर्नामा पनि सक्रिय हुनपर्ने भन्दै उनले कार्यक्रममा देखिएको उत्साहले आगामी दिनमा महिला विभागलाई अझ सबल बनाउन सहयोग पुग्ने विश्वास ब्यक्त गरिन ।

क्रान्तिकारी पत्रकार संगठनकी केन्द्रीय सदस्य सुशीला आचार्यले तीजले वर्गीय र सामाजिक समानता स्थापना गर्न सन्देश दिने बताइन ।


कार्यक्रममा प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य सुदर्शन रिजालले पत्रकारले केवल कलम चलाउने मात्र नभइ सामाजिक संस्कृति र परम्परालाई जोगाउने जिम्मेवारी पनि लिनुपर्ने बताएका थिए ।


कार्यक्रममा महिला विभाग प्रमुख एवं महासंघ दाङ शाखाकी उपाध्यक्ष नारायण रजौरेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य सरिता चौधरीले गरेकी थिइन भने सञ्चालन रमा नेपालीले गरेकी थिइन ।

प्रकाशित मिति : २०८२ भाद्र ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *