२०८२ कार्तिक २४ गते सोमवार

दंगीशरण – ६ का वडाध्यक्ष शाह भन्छन् – वडाले स्वतन्त्र रुपमा बजेट बनाउन नपाएपछि योजना नपठाइएको हो

तुलसीपुर , भदौ २ । दंगीशरण गाउँपालिका – ६ का वडाध्यक्ष रोषणजंग शाहले स्वतन्त्र रुपमा वडाले योजना छनोट गरि बजेट बनाउन नपाएको हुँदा तयारी अवस्थामा रहेपनि गाउँपालिकामा त्यसको ड्राफ्ट नपठाइएको बताएका छन् ।


फरककोणले हालसम्म दंगीशरण – ६ ले गाउँपालिकामा आफ्ना योजनाहरु नै नपठाएको बारे सोमबार समाचार प्रकासित गरेपछि त्यसबारे प्रक्रिया दिदै वडाध्यक्ष शाहले वडाले आँफैले योजना छनोट गरि बजेट निर्माण गर्न पाउने अधिकारमा पालिका हावी बन्न खोजेपछि हालसम्म योजनाहरु नपठाएको बताएका हुन ।

‘ वडा कार्यालय आँफैले आफ्नो बजेटका लागि योजना छनोट गर्न पाउनु पर्छ,’ शाहले भने‘ तर, हामीले छनोट गरि योजना गाउँपालिकाले मिल्दैन भनेपछि हामीले नपठाएका हौं ।’ यसबारे छलफल जारी रहेको र केही दिनमै समस्या समाधान हुनेमा उनी आशाबादी सुनिए ।


वडाले वनाएका वा छनोट गरेका कस्ता योजनाहरु गाउँपालिकाले समेट्न मानेन् ? भन्ने प्रश्नमा – वडाध्यक्ष शाहले वडा कार्यालयमा ‘हेल्पडेष्क स्थापना’ गर्ने बारेको योजना पालिकाले मिल्दैन भनेपछि योजनाहरु नपठाएको बताए ।


‘हेल्प डेष्क’ स्थापना नहुँदा आउने हरेक सेवाग्राहीले निबेदन लेखेबाफत ५० देखि १०० रुपैयाँ तिर्दै आएको हुँदा जनतालाई दुःख दिनु हुन्न र त्यसका लागि एउटा सहयोगी वडाको तर्फबाट राख्न खोज्दा पालिकाले अस्विकार गरेको शाहले बताए ।

वडाध्यक्ष शाहका अनुसार वडाबासीले आजपनि अँग्रेजी कागजात बनाउनु पर्दा ‘साइबर’ सम्बन्धि काम गर्ने बजारका कार्यालयहरमा गइ महंगो तिरेर त्यस्ता कागजातहरु बनाउँदै आएका छन् ।


‘बिदेश जान चाहानेहरु प्राय अँग्रेजी कागजात बनाउन आउनु हुन्छ,’ शाहले भने ‘ उहाँहरुले अहिले पनि वडा कार्यालय र साइबरमा गइ डबल पैंशा तिर्दै आउनु भएको छ । यो पनि हटाउने योजना हाम्रो थियो तर यसमा पनि अबरोध भयो ।’


निर्वाचनका क्रममा आँफुले वडाबासी समक्ष गरेका बाचाहरु मध्य सेवा प्रवाह चुस्त दुरुस्त र प्रभावकारी बनाउने तथा हेल्प डेष्क स्थापना गर्ने भन्ने रहेपनि हालसम्म त्यो गर्न नसकेको र गर्न खोज्दा पालिका बाधक बनिरहेको हुँदा आँफुलाई चित्त नबुझेको उनले बताए ।

आफ्ना ती मागहरु सम्बोधन भए तत्काल तयारी अवस्थाको योजनाहरु आँफुहरुले पालिकामा पठाउन तयार रहेको उनले बताए ।

प्रकाशित मिति : २०८२ भाद्र २ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *