दाङ, साउन २९ । दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रशाद लम्साललाई कैलालीमा सरुवा गरिएको छ ।
गृहमन्त्री स्तरिय निर्णयबाट बुधबार लम्साललाई कैलाली पठाउने निर्णय भएको थियो ।
गृह मन्त्रालयले कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाललाई गृह मन्त्रालयमा झिकाएको छ ।
जिम्मेवारीबाट हटाएर उनलाई गृहमन्त्रालय तान्ने निर्णय भएको गृह प्रशासनले निर्णय गरेको थियो । जिल्ला कारागार कैलाली भित्र कैदीबन्दीका बीचमा साउन २३ गते मध्यराति हिंसात्मक झडप भएको थियो । त्यो झडपमा परि धनगढी उपमहानगरपालिका – ४ का ४० बर्षीय भरत चौधरीको मृत्यु भएको थियो ।
उनी ६ महिना पहिले मात्रै लागुऔषध मुद्दामा जेल चलान भएका थिए । त्यो हिंसात्मक झडपमा परि ४७ जना घाइते भएका थिए । घाइते मध्य दुई जनाको काठमाडौंमा र अन्य हात खुट्टा फ्याक्चर भएका ब्यक्तिहरुको धनगडीमै उपचार भइ रहेको छ ।
कैलालीका सिडियो हमालका ठाउँमा दाङका लम्साललाई पठाउने निर्णय भए बमोजिम बिहीबार नै लम्साल कैलाली जाने तयारी गरेका छन् ।
आँफुले दाङ छोड्नु भन्दा पहिले लम्सालले घोराहीस्थित कार्यालयमा दिउँसो साढे १ बजेतिर पत्रकार सम्मेलनको आयोजना गरेका छन् । उनले आँफुले गरेका काम र प्रगति बिवरणबारे जानकारी पत्रकार सम्मेलन आयोजना गरेको बताएका छन् ।
दाङको सिडियोको रुपमा कस्लाई पठाउने भन्ने बारे निर्णय भइ सकेको छैन ।
यसअघि कारागार कार्यालय बाँकेका जेलर जालन्धर भूसाललाई कैलाली कारागारमा काजमा खटाइ सकिएको छ । कारागार कार्यालय कैलालीका प्रमुख बसन्त खत्री बिदामा रहेकाले उनका ठाउँमा भूसाललाई काजमा खटाइएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिएका थिए ।
गत शनिबार नै भूसाललाई कैलाली काजमा खटाइएको थियो ।
जेलर खत्री बिदा बसेपछि रामकुमार चौधरीले निमित्त कारागार प्रमुखको जिम्मेवारी सम्हालेका थिए।
कैलाली कारागार प्रमुख खत्री बिदा बसेकै समयमा शुक्रबार कैदीबन्दीहरूको दुई समूहबीच झडप भएको थियो। त्यो हिंसात्मक झडप पछि थप हिंसा हुन नपावस भनेर कैदी बन्दी आँफैले भित्रवाट ताला लगाएर बसेका थिए । झडपको दुई तीन दिनसम्म कारागार भित्र प्रहरी प्रशासनका मानिस प्रबेश गर्न सकेका थिएनन् ।
राति झडप भएपछि लगतै बिहान कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालको अध्यक्षतामा सुरक्षा समितिको बैठक बसेको थियो ।
त्यो बैठकले सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा ५ सदस्य छानबिन समिति गठन गरेको थियो ।
समितिमा जिल्ला प्रहरी प्रवक्ता डिएिसपी राजकुमार सिंह, सशस्त्रका डिएसपी जनकराज पन्त, अनुसन्धान अधिकृत दीपेन्द्रसिंह सदस्य छन भने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशी सदस्य सचिव छन् । समितिलाई दस दिन भित्र प्रतिबेदन बुझाउन भनिएको छ। बिहीबार ६ दिन बित्दै छ ।
कैलाली कारागारको क्षमता जम्मा १५० जनाको मात्रै छ। तर, त्यहाँ सात सय जति कैदीबन्दी राखिएका छन ।
कारागार भित्र प्रभुत्व जमाउने होडबाजीका कारण हिंसात्मक झडप भएको अनुमान गरिएको छ । यअसघि प्रहरी अधिकारीहरुले कैदी स्थान्तरणको बिषयमा उत्पन्न बिबाद हिंसात्मक झडपमा परिनत हुन पुगेको बताएका थिए ।
आफ्ना मान्छेलाई बाहिर स्थान्तरण हुन नदिने वा भनेको ठाउँमा राख्ने चलखेलका कारण झडप भएको विश्लेशन सुरक्षाअधिकारीहरुको छ ।
