
दाङ, साउन १८ । हत्याको २७ बर्ष पछि नेपाली काँग्रेस दाङले एक जना आफ्ना नेताको शालिक निर्माण अभियान सुरु गरेको छ ।
नेपाली कांग्रेस साबिक पुरन्धारा इकाइ उपसभापति शहीद शोभाकर (शालिकराम) घिमिरेको शालिक निर्माण गर्न काँग्रेस जनले आपसमा सहयोग संकलन अभियान नै थालेका छन् ।
नेपाली काँग्रेस दाङ क्षेत्र नं. ३ का सभापति तथा शालिकरामको शालिक स्थापनार्थ गठित समितिका संयोजक जगतबाहदुर खड्काले अबको दुई हप्ता भित्रै शालिक अनावरण गर्ने गरि तयारी गरिएको बताए ।
‘ शालिक निर्माण गरि तयारी अवस्थामा छ,’ सभापति खड्काले भने ‘ आपसमा रकम संकलन भइ रहेको छ ।
हामी छिट्टै त्यो ल्याएर शिलन्यास गर्ने तयारीमा छौं।’ शालिक निर्माणमा मात्रै ५ लाख खर्च लागेको भन्दै क्षेत्रीय सभापति खड्काले शालिक ल्याएर स्थापना गर्दासम्म झन्डै ९ लाखसम्म खर्च लाग्न सक्ने अनुमान गरे ।
२०५५ साउन १६ गते राति खाना खाएर बसिरहेका ३२ बर्षीय शालिकरामलाई तत्कालिन बिद्रोही नेकपा (माओबादी)ले ढोका खोल्न लगाएर उनलाई छातिमा गोली हानी हत्या गरेका थिए । काँग्रेस दाङका अनुसार जिल्लामा माओबादीबाट हत्या गरिएका शालिकराम नै पहिलो शहीद हुन ।
परिवार जनका अनुसार शालिकरामकी श्रीमतिले ढोका खोल्नासाथ माओबादीका कार्यकर्ताले उनको छातिमा गोली प्रहार गरेका थिए । गोली प्रहार गरेपछि भूइमा लडेका शालिकराम माथि उनीहरुले घाँटीमा खुकुरी प्रहारपनि गरी भागेका थिए ।
शालिक रामको तत्कालै घटनास्थलमै मृत्यु भएपनि त्यो युद्धको सन्त्रासका बीचमा राति शालिकरामको घरमा कोही पुग्न सकेन ।
त्यतिखेर अहिले जस्तो गाउँ घरमा सञ्चार सुविधापनि थिएन । हातहातमा मोवाइल फोन वा समाजिक सञ्जालको प्रयोग थिएन । त्यो समय हापुरेमा अहिले जस्तो प्रहरीको उपस्थिति थिएन ।
राति अबेर तुलसीपुर क्षेत्रमा बस्ने काँग्रेसका नेताहरूलाई खबर पुगेपछि बिहानमा मात्रै तुलसीपुरबाट प्रहरी शालिकरामको घरमा पुगेका थिए । प्रहरीले मुचुल्का तयार पारे पछि स्वर्गिय नेता खुमबाहदुर खड्काले आदेशमा नेपाली सेनाको हेलिकोप्टरबाट शव पोष्टमार्टमका लागि तत्कालीन महेन्द्र अस्पताल घोराहीमा पुर्याइएको थियो ।
पोष्टमार्टम पछि घोराहीमै शालिकराम घिमिरेको अन्तिम संस्कार गरिएको स्थानीय बासी तथा नेपाली कांग्रेस क्षेत्र नं. ३ का सचिव पूर्ण केसीले बताए ।
शालिकरामको हत्या हुँदा छोराहरू नाबालक थिए । शालिकरामको हत्या हुँदा भाइ गोविन्द रोजगारीको खोजीको शिलशिलामा भारतमा थिए । दाजुको हत्याको तीन दिनपछि मात्र भाइ आएर काजकिरिया सुरु भएको थियो ।
गोविन्द दाजु शालिकरामको किरिया बसेका थिए । भाइ गोबिन्दले तत्कालिन समय माओबादीका कार्यकर्ताले उर्दिजारी गरेर गाउँ घरका कसैलाई पनि आफ्नो घरमा नजान चेतावनी दिएको बताए ।
‘त्यो समय माओबादीको त्रासका कारण म किरिया बसेको बेला घरमा बत्ती कुर्नसमेत गाउँ घरमा मानिस आउँदैन थिए,’ गोबिन्दले भने ‘ हाम्रो घरमा जो जान्छ उस्को पनि त्यस्तै हालत हुन्छ भन्ने त्रास माओबादीले गाउँघरमा छरेका थिए ।’
तत्कालिन सयमा साविक पुरन्धाराको – ३ मा एउटा घरमा बसिरहेको अवस्थामा फेला पारेपछि सुरक्षाकर्मीले नियन्त्रणमा लिने क्रममा भएको मुठभेडमा गोली लागेर दुई जना माओबादीका युवाको मृत्यु भएको थियो ।
तत्कालिन काँग्रेसका पुरन्धारा उपसभापति शालिकराममाथि त्यसपछि माओबादीले जासुसी गरेको आरोप लगाएका थिए ।
दाङको क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री दीपक गिरीले बबई गाउँपालिका – ५ स्थित शहीद शालिकरामको घर नजिकै सडकको चोकमा शहीद घिमिरेको शालिकको शिलन्यास गरेका छन् ।
काँग्रेस केन्द्रीय सदस्यसमेत रहेका गिरीले आश्थाकै आधारमा बिभिन्न आरोप लगाएर काँग्रेसका नेता कार्यकर्ताको माओबादीले छानी छानी हत्या गरेको भएपनि काँग्रेसका नेताहरुको लोकतन्त्र प्रतिको आस्था भरोसा र अदम्म साहसका कारण अहिले पनि मुलुकको सबै भन्दा ठूलो पार्टी बन्न संभव भएको बताए ।
‘ हामी सबै मिलेर शहीद शालिकरामका सपनालाई पूरा गर्न लाग्नु पर्छ,’ नेता गिरीले भने ‘शालिकराम जस्ता गाउँमा टुकी बालेर बस्नेहरूले नै लोकतन्त्र जोगाएका हुन ।’
शालिकराम जस्ता इमान्दार ब्यक्तिहरुकै त्याग र बलिदानीले काँग्रेस मजबुत बनेको भन्दै उनले शहीदहरुकै कारण्या मुलुकमा गणतन्त्र स्थापना भएको बताएका थिए ।
स्मृतिसभा तथा शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस दाङका सभापति शंकरप्रसाद डांगीले हरेक पालिकामा कांग्रेस भएकै कारण बिगतमा हत्या गरिएका शहीदको सम्मान गर्न स्मारिका तथा शालिक निर्माण गर्न अभियान चलाउने बताएका थिए ।
शहीदको बलिदानीले आएको पछिल्लो राजनीतिक परिवर्तन जनमुखी बनाउन कांग्रेस जिल्लादेखि केन्द्रसम्म क्रियाशील हुनुपर्ने उनले बताए ।
स्मृतिसभामा कांग्रेसका नेताहरु शंकर गिरी, केशव आचार्य महाधिवेशन प्रतिनिधि जोगन्द्र विश्वकर्मा, कांग्रेस तुलसीपुर नगर सभापति सुरेश हमाल, शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेत, बबई गाउँपालिका अध्यक्ष कुलवहादुर खत्री, दंगीशरण गाउपालिका अध्यक्ष शम्भु गिरी, बबईका इकाइ सभापति प्रकाश बस्नेत, शान्तिनगरका सभापति झलक केसी, बबईका पूर्वसभापति बलबहादुर बुढा ,शहीद परिवारको तर्फबाट स्व. शालिकरामका भाइ गोविन्द घिमिरे लगायतले स्व. घिमिरेको राजनीतिक योगदानबारे चर्चा गरेका थिए ।
कार्यक्रमका विशिष्ट अतिथि तथा नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डांगीले स्व. शहीद शोभाकरप्रति श्रद्धासुमन व्यक्त गर्दै कांग्रेसले हरेक पालिकामा यस्ता शहीदप्रति सम्मान गर्न स्मारिका तथा शालिक निर्माण गर्न अभियान नै थालेको बताए ।
शहीदहरूको बलिदानीले आएको यो परिवर्तन जनमुखी बनाउन कांग्रेस जिल्लादेखि केन्द्रसम्म क्रियाशील हुनुपर्ने उनको भनाई थियो ।
स्मृतिसभामा कांग्रेसका नेता शंकर गिरी, केशव आचार्य महाधिवेशन प्रतिनिधि जोगन्द्र विश्वकर्मा, नेपाली कांग्रेस तुलसीपुर नगर सभापति सुरेश हमाल, शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेत, बबई गाउँपालिकाका अध्यक्ष कुल बहादुर खत्री लगाएतको सहभागीता रहेको थियो ।



