दाङ, साउन १४ । घोराही–तुलसीपुर चारलेन सडकमा निर्माण कम्पनी र सडक कार्यालयका प्राविधिकले आइतवारदेखि ज्वाइन्ट सर्भे सुरु गरेका छन । निर्माण कम्पनी र सडक कार्यालयका गरी १२ जना प्राविधिक सडक खण्डमा परिचालित भएको आयोजनाका कन्ट्याक्ट मेनेजर इन्जिनियर सुनिल ढुँगानाले जानकारी दिए ।
निर्माण सम्झौता भएको दुई सातापछि ठेक्का सम्झौता हुनु अघि तयार पारिएको डिपीआर अनुसार अहिलेको अवस्था ठिक छ/छैन भनेर पुनः सर्भे गर्न थालिएको छ ।
यो सर्भे पछि मात्रै निर्माणको काम सुरु हुने छ । ज्वाइन्ट सर्भेका लागि कम्तिमा २५ दिन लाग्नेछ । नयाँ डिजाइन गरेपछि स्थलगत रूपमा निर्माणको काम सुरु हुने ढुँगानाले बताए ।
दसैँलगत्तै स्थलगत रूपमै निर्माणको काम सुरु हुने ढुँगानाले बताए । आयोजनाको व्यवस्थापनका लागि दुधरासमा साइट अफिस सञ्चालनमा ल्याइ सकेको उनले बताए ।
मदनभण्डारी राजमार्ग आयोजनाको नयाँ कार्यक्रम अनुसार घोराही–तुलसीपुर चारलेन सडक खण्डको लम्बाइ २१ दशमलव ५८ किलोमिटर रहने छ ।
घोराहीको डिके पेट्रोलपम्पदेखि सुरु हुने बिस्तारको काम तुलसीपुरको हात्तीखौवा चोकसम्म हुने छ । आयोजना सम्झौता अनुसार स्तरोन्नति हुने सडक सहरी क्षेत्रमा २० मिटर कालोपत्रे र फूटपाथसहित ३० मिटर कायम हुनेछ ।
ग्रामीण क्षेत्रमा भने १५ मिटर चौडाइ कालोपत्रे हुनेछ ।
नौ दशमलव पाँच किलोमिटर सडक सहरी क्षेत्रमा र बाँकी क्षेत्र ग्रामीण क्षेत्रमा छ । सडकको बिचमा तीन मिटरको मेडियन रहने छ । त्यो क्षेत्रमा रेलिङसहित आवश्यकता अनुसार वृक्षारोपण गरिने छ ।
आयोजनाका अनुसार सडकको कालोपत्रेको मोटाइ भने १० सेन्टिमिटरको रहने छ । कालोपत्रे दुई लेयरमा हुनेछ ।
हालको कालोपत्रे बाँकी रहेको सबै भाग हटाएर नयाँ मापदण्ड अनुसार कालोपत्रे हुने आयोजनाका इन्जिनियर ढुँगानाले बताए ।
त्यस्तै सडक निर्माणका क्रममा आवश्यकता अनुसारका क्षेत्रमा सडक पार गर्ने लेन निार्मण गरिने छन् । यात्रुले समेत तोकिएका स्थान बाहेकका स्थानबाट सडक वारपार गर्न मिल्ने छैन ।
यो सडक बिस्तारको जिम्मा काठमाडौंको दिवा/वन्दन भगवती जेभीले पाएको छ । २०८२ असार २४ गते मदन भण्डारी राजमार्ग आयोजनासँग निर्माण सम्झौता भइ सकेको छ ।
२०८५ असार २४ गते काम सक्नु पर्ने संझौंतामा उल्लेख छ । करिब तीन अर्ब २५ करोड रुपैयाँमा ठेक्का आह्वान भए पनि निर्माण कम्पनीले कुल बजेट दुई अर्ब ५३ करोड रुपैयाँमा काम सकारेको हो ।
आयोजनाका कन्ट्रयाक्ट मेनेजर ढुँगानाका अनुसार विद्युत, टेलिफोन, खानेपानी तथा ढल निकासका संरचना तत्काल स्थानान्तरण गर्न जरुरी छ ।
सडक किनाराका केही रुख पनि हटाउनु पर्ने छ ।
सडक स्तरोन्नतिका क्रममा क्रसर प्लान्ट, कङ्क्रिट व्याचिङ प्लान्ट, आस्पाल प्लान्ट लगायतका संरचना निर्माण कम्पनीले आफैँ सञ्चालनमा ल्याउने भएको छ ।
यी संरचना परियोजना अवधिभर मात्र सञ्चालन हुने छन । नदीजन्य पदार्थ ढुँगा , गिट्टी, बालुवा आयोजनाकै बजेटबाट स्थानीय सरकारलाई राजस्व तिरेर लगिने छ ।
यो सडक मदन भण्डारी राजमार्ग आयोजना अन्तर्गतकै बजेटबाट निर्माण हुने भए पनि स्थानीय सुपरभिजन र समन्वय सडक डिभिजन कार्यालय दाङबाट हुनेछ ।
चालु आर्थिक वर्षको बजेटमा मोविलाइजेसन पेस्की निर्माण कम्पनीलाई उपलब्ध गराउने प्रक्रियामा रहेको छ ।
यही निर्माण कम्पनीले नारायणी नदीमा तटबन्धको काम गरेको हो । निर्माणाधीन अवस्थामा रहेको अरनीको राजमार्ग अन्तर्गतको सूर्यविनायक–साघा सडक खण्ड यसैले गरि रहेको छ भने काठमाडौंको चक्रपथ निर्माणको काम तोकिएको समयमा पुरा गरेको थियो ।
घेराही– तुलसीपुर सखड खण्ड यस अघि भारतको एक्जिम बैंकको सशर्त ऋणमा सडक स्तरोन्नतिको काम सुरु भए पनि तोकिएको समयमा निर्माण कम्पनीले काम गर्न नसकेपछि सडक क्षतविक्षत भएको थियो । यो सडक खण्डमा दुई वर्षको अवधिमा कम्तिमा ३० जना बढीले ज्यान गुमाएका थिए ।
ब्यापक आलोचन पछि नेपाल सरकारले भारतको मुम्बईस्थित तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्टसँग ठेक्का रद्द गरेको थियो । हाल नेपाल सरकारले आफ्नै बजेटमा यो सडक खण्डको स्तरोन्नतिको प्रक्रिया थालेको हो ।
सडक डिभिजन दाङको आग्रह
सडक डिभिजन दाङले घोराही–तुलसीपुर सडकको स्तरोन्नतिको ठेक्का सम्झौता भएर निर्माणको काम सुरु भएकाले सडकको ‘राइट अफ वे’मा पर्ने सबै संरचना साउन ३० गतेभित्र हटाउन आग्रह गरेको छ ।
डिभिजन प्रमुख दीपेन्द्रबहादुर विष्टले सोमवार तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थालाई पत्राचार गरी त्यस्तो आग्रह गरेका हुन ।
तोकिएको मितिमा त्यस्ता संरचना नहटाए त्यसको जिम्मेवार डिभिजन सडक कार्यालय दाङ नहुने पत्रमा उल्लेख छ । पत्रको बोधार्थ मदन भण्डारी राजमार्ग आयोजना, जिल्ला समन्वय समिति तथा जिल्ला प्रशासन कार्यालयलाई पनि दिइएको छ ।

