
दाङ, साउन १३ । डोल्पास्थित ठूली भेरी नदीको बाढीमा फसेका चार जनाको उद्धार गरिएको छ ।
मंगलबार बिहान नदीमा आएको बाढीले बगाएर ल्याएका दाउरा संकलनका लागि गएका चार जना ठूली भेरी नगरपालिका – ३ धुलीचौरस्थित ठूली भेरी नदीको भंगालोमा फसेका थिए ।
जिल्ला प्रहरी प्रमुख डिएसपी रुकबहादुर खड्काका अनुसार अबिरल बर्षाका कारणले दाउरा संकलन गर्न गएका चार जना पानीको बहाब बढेपछि नदी बीचको टापुमा फसेका थिए ।
उनीहरुले गुहार मागेपछि जिल्ला प्रहरी प्रमुख खड्काको कमाण्डमा २५ जनाको टोली उद्धार कार्यमा खटिएको थियो ।
प्रहरीले उद्धार कार्यका लागि थप सहयोग मागेपछि सशस्त्र प्रहरी बल गुल्म नं. ४६ दुनैबाट सहायक प्रहरी नायव उपरीक्षक दीपकराज भट्टको कमाण्डमा १९ जना र संग्राम सार्दुल गुल्म सुलिगार्ड बाट सेनानी हरिश शाहीको कमाण्डमा खटिएको २२ जनाको टोलीले चार जनाको डोरीको साहेताले सकुशल उद्धार गरेको हो ।
नदीको भंगालोमा त्रिपुरा सुन्दरी नगरपालिका – ६ का ३३ बर्षीय ललित बोहरा, २२ बर्षीय नन्दप्रशाद बोहरा, ३७ बर्षीय श्यामलाल बोहरा र ३५ बर्षीय लालकुमार बुढा फसेका थिए ।
बिहान १० बजेतिर चार जनाको उद्धार सकिएको डिएसपी खड्काले जानकारी दिए ।
