दाङ, साउन १२ । साउन ६ गते बेलुकी रुकुम पश्चिमस्थित ठूली भेरी नदीमा टिपरसहित खसेका तीनै जना युवाको शब फेला परेको छ ।
डोजर चालक रुकुम पश्चिम सानिभेरी गाउँपालिका – ३ का ३३ बर्षीय धनविर बराइलीको शब आइतबार दिउँसो फेला परेको थियो ।
शबको सनाखत परिवारका सदस्यले बेलुकी अवेर मात्रै गरेको रुकुम पश्चिमका प्रहरी प्रमुख डिएपपी प्रमेश बिष्टले जानकारी दिए । बराइलीको पोष्टमार्टम सोमबार बिहान मात्रै भएको प्रहरीले बताएको छ ।
यसअघि बिहीबार टिपर चालक दाङका ३५ बर्षीय मनिराम चौधरी र शुक्रबार रुकुम पूर्वको सिस्ने गाउँपालिका – ८ स्यालापाखाका डोजरका परिचालक २० बर्षीय हरि बिकको शबको सनाखत भएको थियो ।
सुर्खेतको भेरी गंगा नगरपालिका – २ खोजी आसपासको भेरी नदीमा तीनै जनाको शब एक पछि अर्कौ गर्दै फेला परेको हो ।
साउन ६ गते बेलुका पौने ८ बजेतिर रा १ क १५०१ नम्बरको टिपरसहित रुकुम पश्चिमको आठबीसकोट नगरपालिका –१४ पिपलचौरबाट ठूली भेरी नदीमा तीन जना खसेका थिए ।
टिप्पर जाजरकोट डोल्पा भेरी करिडोर सडकखण्ड अन्तरगत जाजरकोटको नलगाड नगरपालिका – ११ चिसापानीबाट वडा नं. १४ को छेपारे तर्फ जाँदै थियो ।
टिपरसहित बगेर बेपत्ता भएका तीनै जनाको शब घटनास्थलदेखि झन्डै ६० किलोमिटर भन्दा टाढा सुर्खेतमा फेला परेको डिएसपी बिष्टले बताए ।
टिपरको अगाडिको इञ्जिन भाग बुधबार घटनास्थलदेखि करिब पाँच सय मिटर दक्षिणमा फेला परेको थियो ।

